सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु वस्ती नायक ‘बरघर’ चुनिन थाले, मृतकको घरमा बस्न नगए ३ सय रुपैयाँ जरिवाना !

कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरमा माघी डेवानी कार्यक्रममा सहभागी स्थानीय
कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरमा माघी डेवानी कार्यक्रममा सहभागी स्थानीय
२०७७ माघ २, ०३:०० खबर संवाददाता

धनगढीः माघ २ गतेदेखि थारु वस्तीमा वस्तीका नायक चुन्ने तथा अनुमोदन कार्य सुरु भएको छ।

हरेक माघमा वस्तीको नेतृत्व चयन गर्ने प्रचलन रहिआएको थारु समुदायमा माघ मनाए सँगै वस्ती नायकको रुपमा बरघर वा भलमन्सासहित अन्य नेतृत्व चयन गर्ने सुरु भएको हो।

कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरका स्थानीयले शुक्रबार माघी डेवानी तथा खोज्नीबोज्नी कार्यक्रम गरेर आगामी १ वर्षको लागि नयाँ नेतृत्व चयन गरेका छन्। स्थानीयले नयाँ भलमन्सामा यमबहादुर चौधरीलाई छनोट गरेका हुन्। चौकीदारमा गोपीलाल चौधरीलाई अनुमोदन गरिएको छ। त्यस्तै । भलमन्साको सल्लाहकारमा भागीराम चौधरी, फूलाराम चौधरी, खुशीराम चौधरीलाई चयन गरिएको छ।

पूर्वभलम्सा फूलाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासीले १ वर्षको लागि नीति नियम पनि बनाएका छन्। फकलपुरका स्थानीय समेत रहेका थारु कल्याणकारिणी सभा कैलाली (थाकसं)का उपसभापति माधव थारुका अनुसार गाउँको भेलामा नआउनेलाई प्रति भेला २५ रुपैयाँका दरले दण्डित गर्ने नियम बनाइएको छ। वस्तीले थालेको कुनै काममा अनुपस्थित भए ५ सय रुपैयाँ जरिवाना गर्ने पनि निर्णय गरिएको छ। 

थारु समुदायमा कुनै व्यक्तिको मृत्यु भएको अवस्थामा गाउँलेहरुले मृतकका परिवारजनलाई सन्त्वना दिनको लागि मृतकको घरमा राति सुत्न थाले प्रचलन रहेको छ। जसलाई ‘बसे जैना’ भनिन्छ। यदि भलमन्साले तोकेको कुनै व्यक्तिले सुुत्न नगएको अवस्थामा ३ सय रुपैयाँ जरिवाना गर्ने समेत निर्णय भएको थाकस कैलाली उपसभापति थारुले जानकारी दिए। फकलपुरमा १ सय घरधुरीको बासोबास रहेको छ।

यसैबीच गोदावरी ८ मजगाउँ कटानका स्थानीयले आफ्नो नेतृत्व छनौट गरेका छन्। स्थानीयले पूर्व भलमन्सा बृद्धिराम चौधरीलाई पुनः भलमन्सामा अनुुमोदन गरेका छन्।

आर्थिक वर्षको रुपमा समेत मनाइने माघमा विगतको समीक्षा र आउँदै वर्षको लागि योजना बनाइने गरिन्छ।

धनगढी उपमहानगरपालिका ७ स्थित पटेलाबासीले पनि जखेरी (बखेरी) अर्थात विगतको वर्षको समीक्षामा जुटेका छन्।

पटेला समुदायिक वनका अध्यक्ष समेत रहेका स्थानीय अर्जुन चौधरीले विगतको समीक्षा संगै नयाँ कार्ययोजना बनाउँदै नयाँ नेतृत्व चयन गरेको जानकारी दिए।

उनका अनुसार नयाँ भलमन्सामा मेघराज चौधरीलाई चयन गरिनुका साथै अन्य निकट भाविष्यका लागि पनि भलमन्सा चयन गरिएको छ। स्थानीयले २०७८ को लागि रामकृष्ण चौधरी र २०७९ को लागि पर्शुराम चौधरीलाई चयन गरेको छ।

यसैबीच देशबन्धिया (मुख्य पुजारी) गुरुवा टिटरुहुवा गुरुवालाई चयन गरिएको छ। केशौका (सहायक पुजारी) धरमबहादुर चौधरी र चिरक्या (खबर बाहक)मा गंगाराम चौधरीलाई चयन गरिएको हो।

यतिबेला पटेला, फकलपुरमा मात्रै होइन प्रायः सबै थारु वस्तीमा माघको रौनकता सँगै नयाँ नेतृत्व चयन गर्ने कार्य सुरु गरिएको छ।

भलमन्सा तथा बरघर प्रथा नेपालको आदिवासी थारू समुदायको प्रथाजन्य कानूनको रुपमा स्थापित प्रथा हो। जुन प्रथा अनुसार थारू समुदायमा बरघरहरुले निश्चित समय र उदेश्यका लागि समाजबाट कार्यकारी प्मुखको जिम्मेवारी पाएका हुन्छन्। माघ पर्व मनाएपश्चात आजभोलि थारु वस्तीमा बरघर, भलमन्सालगायत वस्तीको नेतृत्व चयनको काम धमाधम चलिरहेको छ। यसरी आफ्नो वस्तीको नेतृत्व आफै छनौट गर्ने प्रणालीलाई थारु समुदायमा ‘माघी डेवानी’का साथै भूरा खेल समेत भन्ने गरिन्छ।

थाकस कैलाली उपसभापति थारुका अनुसार भलमन्सा तथा बरघरहरुले गाउँको विकास निर्माणमा श्रमदान, झै–झगडा मिलाउने, विवाह, भोज, मृत्यु संस्कार, गाउँलेको सुख–दुःखमा गाउँलेहरुलाई नै परिचालन गर्ने काम गर्दछन्। पहिले–पहिले गाउँको निःशुल्क सेवा गर्दै आएका नेतृत्वकर्ताहरुले पछिल्लो समयमा भने सेवा गरेबाफत गाउँलेहरुले प्रत्येक घरबाट जिन्सी, नगद संकलन गरेर केही पारिश्रमिक समेत दिन थालेका छन्।

समाज निर्माणमा भूमिका खेल्दै आएका बरघरहरुलाई प्रोत्साहनको लागि राज्यले नीति ल्याउनुपर्ने उपसभापति थारु बताउँछन्।

माघौटाको उल्लास
थारु वस्तीमा मघौटा, सखिया नाचको उल्लास छाएको छ। धनगढीको पटेलावासी नयाँ नेतृ्तव नय सँगै मघौटा नाचको उल्लासमा झुम्मिएका छन्। घर–घरमा गई मघौटा नाच्दै रमाएका हुन्।

बाबाकी सगरम गैली मुरिया लहान गैली हाँ
सखिय हो सेन्दुर छुटल पानी घाट
बाबाकी सगरम गैली मुरिया लहान गैली हाँ
सखिय हो टिकुली छुटल पानी घाट
गल्ली गल्ली नेगली ढुरखी उरैली हाँ
सखिय हो लहंगामे लागि गैल ढुर सखिय हो
सकिरी गलियाम लगल बजरिया रे हाँ
सखिय हो करि डेउ बनिया टिकुलिक् मोल सखिय हो ।

बीच–बीचमा मघौटा नाचका नचुयाहरुले उत्तानो परेर मुखले पैसा टिप्ने कला प्रदर्शन गर्न थालेपछि माघको माहोल झनै उत्साहित बनेको हो। पटेलाका स्थानीय यूवा रामसिंह चौधरीले सदियौंदेखि माघमा मघौटालगायत सांस्कृतिक कार्यक्रमले उल्लास छाउँदै आएको बताउँछन्।

कमेन्ट लोड गर्नुस