सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलापारी महाकाली मिचेर जबरजस्ती बाँध बाँध्दै भारत

फोटो : अन्नपूर्णपोष्ट
फोटो : अन्नपूर्णपोष्ट
२०७७ पुष १९, ०३:२३ खबर संवाददाता

दार्चुला : दार्चुला सदरमुकाम पारी भारतले महाकाली नदी पुर्दै तटबन्ध बनाइरहेको छ।

उक्त कार्य रोक्न भन्दै पुस २ गते जिल्ला प्रशासन कार्यालयले भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई  पत्राचार गरेको थियो। 

तर पत्रको वेवास्ता गर्दै अहिले पनि निर्माण कार्य चलिरहेको पाइएको छ। अहिले उक्त स्थानमा डोजर नदीतर्फ ढुंगामाटो खसाल्दै निर्माण कार्य गरिरहेका छन्।  

उक्त विषयमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतले पत्रको वेवास्ता गर्दे संरचना बनाइरहेको बताए। सीमा नदीमा बिनासमन्वय काम गर्न नहुने भन्दै उनी भन्छन्, ‘मैले यो विषयमा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु। बाँकी अब परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं।’ 

गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताए। 

यसरी भारतले एकलौटी ढंगले तटबन्ध निर्माण गर्दै जाने हो भने दार्चुलावासीको उठीबास हुने भन्दै स्थानीले चिन्ता व्यक्त गरेका छन्। 

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो।
 

कमेन्ट लोड गर्नुस