दिनेशखबरमा प्रकाशित समाचारमा अश्लील कमेन्ट गर्ने कांग्रेस नेता विरुद्ध प्रहरीमा निवेदन
धनगढीः दिनेशखबरमा प्रकाशित समाचारमा अश्लील गालीगलौज गर्ने नेपाली कांग्रेसका एक नेता विरुद्ध प्रहरीमा निवेदन दिइएको छ।
दिनेशखबरमा प्रकाशित भएका समाचारमा अश्लील कमेन्ट गर्दै गालीगलौज गर्ने नेपाली कांग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि पूर्णबिक्रम सिंहलाई कारवाहीको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दर्ता गरिएको हो।
दिनेश सञ्चार गृह व्यवस्थापनले पुस १२ गते दिनेशखबरको फेसबुक पेजमा शेयर गरिएको "सुदूरपश्चिमका मुख्यमन्त्री ‘एक्लीदै’, कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव" शिर्षकको समाचारमा प्रबन्ध निर्देशक गोपाल हमाल र दिनेश एफएमका सम्पादक जनक बिष्टको नामै किटान गरि गालीगलौज गर्ने सिंह विरुद्ध निवेदन दिएको जनाएको छ।
सिंहले धनगढीकै नवराज थापाले शेयर गरेको "सुदूरपश्चिमका मन्त्रीद्धारा सरकारी सुविधाको दुरुपयोग गरि आफ्नै प्रधानमन्त्री विरुद्ध भाषण" शिर्षकको समाचारमा पनि दुवै जनाको व्यक्तिगत मानमर्दन र सामाजिक प्रतिष्ठामा आँच पुगाउने हिसाबले अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै कारवाहीको माग गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीको बी एण्ड बी फार्मेसीका सञ्चालक समेत रहेका भनिएका सिंहलाई कारवाही गर्न माग गर्दै निवेदन दर्ता भएको बताए।
उनले सुरुमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताउँदै साईबर(विद्युतीय) अपराध अन्तरगत मुद्दा चलाउनुपर्ने भए जाहेरी दरखास्त माग गरिने जनाए। साईबर अपराध सम्बन्धी मुद्दा जिल्लाले नहेर्ने भएकाले काठमाडौँ पठाइने पनि प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
दिनेशखबरमा प्रकाशित समाचारसँग कुनै सरोकार नै नराख्ने सिंहले व्यक्तिगत मानमर्दन हुनेगरी गालीगलौज गरेको पाइएको प्रहरीले जनाएको छ। सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेको प्रहरीको अभिलेखमा उल्लेख छ।