सशस्त्र प्रहरीद्वारा दार्चुलाको छाङरु र दुम्लिङमा स्वास्थ्य शिविर

धनगढीः सशस्त्र प्रहरीले दार्चुलाको छाङरु र दुम्लिङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गत शनिबार त्यहाँ पुगेको सशस्त्रका चिकित्सकसहितको टोलीले त्यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो।
त्यस क्षेत्रका सुरक्षाकर्मी र स्थानीय गरी झण्डै एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा सशस्त्र प्रहरीका निरीक्षक डा.रेनिश भट्टराईले स्वास्थ्य परीक्षण गरेका हुन्। दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमले छाङरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गरी ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। दुम्लिङमा सशस्त्र प्रहरी र स्थानीय गरी ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
सरकारले भारत र चीनसँग सीमा जोडिएको त्यस क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गरेको छ। छाङरु गुल्म अन्तरगत त्यस क्षेत्रका विभिन्न ठाउँमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ।
भौगोलिक रुपमा विकट रहेकाले सशस्त्र प्रहरीले चिकित्सकसहित पुगेर सुरक्षाकर्मी तथा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो।
