सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रविधिको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

२०७७ पुष १५, ०६:१६ रासस

सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए ।

उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । 

थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । 

उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस