कैलालीका डिएसपी चौधरीमाथिको छानबिन प्रतिवेदन ‘प्रहरी प्रधान कार्यालय पुग्यो’
धनगढीः इलाका प्रहरी कार्यालय मालाखेतिका निलम्बित प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीमाथिको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाइएको छ।
गत मंसिरमा माथिल्लो निकायलाई जानकारी समेत नदिएर करिब ८ घण्टासम्म सम्पर्कविहीन भएका चौधरीमाथि छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलका प्रमुख समेत रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले छानबिन समितिले बुझाएको प्रतिवेदन अध्ययनपछि विभागीय कारवाहीका लागि प्रहरी प्रधान कार्यालय पठाइएको दिनेशखबरलाई बताए।
उनका अनुसार चौधरी जानकारी नदिएर कार्य क्षेत्रमै खटिएका बेला आफूखुसी सम्पर्कविहीन भएका कारण विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ। तर छानबिनका क्रममा महिलासँग भेट्न गएको भन्ने दाबी पुष्टि हुन नसकेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक चौधरी गत मंसिरको दोस्रो साता कार्य क्षेत्रबाट सम्पर्क विहीन भएका थिए। चौधरी भोलीपल्ट कैलालीको गोदावरी नगरपालिकाकै बुढीतोलामा भेटिएका थिए। उनले आफू् सूचना संकलनका क्रममा त्यहाँ पुगेपनि नेटवर्कको समस्याले सम्पर्क विच्छेद हुन पुगेको बताएका थिए।
प्रहरी प्रधान कार्यालयले चौधरीमाथि छानबिनका लागि भन्दै गृह मन्त्रालयको सिफारिसमा गत मंसिर १२ गते गृह मन्त्रालयको सिफारिसमा निलम्बन गरेको थियो।
सम्बन्धित समाचार
कैलालीका डिएसपी चौधरीले खुलाए आफू सम्पर्कविहीन हुनुको रहस्य
कैलालीका डिएसपी चौधरी ८ घण्टासम्म सम्पर्कविहीन भएपछि ...
मालाखेतीका डिएसपी जिल्ला तानिए, कारवाहीका लागि सिफारिस गरिने
कैलालीका डिएसपी चौधरीमाथि छानविन गर्न एसपीको संयोजकत्वमा समिति गठन