आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
काठमाण्डौः सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह पनि गरेका छन्।
पछिल्लो पटक भारतले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको बैशाख ३० देखि निर्यातमा प्रतिबन्ध लगाएको छ । यसतर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । अहिले सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग झण्डै आठ महिनाको माग धान्ने अवस्था छ ।
यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको थियो । संघका अनुसार अहिलेसम्म झण्डै १ लाख ८ हजार मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको छ । त्यस्तै बजारमा झण्डै २० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । बजारमा भाउ बढ्न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताए। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेको उनकाे भनाइ छ ।
कृषि मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुिनक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ । सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो ।