५ दिनपछि जुस पिएर नेकपाका नेताले अनसन तोडे
धनगढी: सत्तारुढ दल नेकपालाई फुटबाट जोगाउन भन्दै अनशन बसेका पत्रकार पदम बोहोराले आफ्नो अनशन तोडेका छन्। नेकपा डडेल्धुराका सदस्य तथा नेपाल पत्रकार महासंघ डडेल्धुराका सह–सचिव बोहराले ५ दिनपछि बिहीबार अनशन तोडेका हुन।
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले माग सुनुवाइका लागि केन्द्रमा पहल गर्ने प्रतिबद्धता जनाएपछि बोहराले अनशन तोडेका हुन। अध्यक्ष कर्ण थापाबाट नै जुस पिएर अनशन तोडेको पत्रकार बोहराले बताए।
पत्रकार बोहराको अनशन तोड्न सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहरा समेत उपस्थित भएका थिए।
प्रेस संगठन सुदूरपश्चिमका सदस्य समेत रहेका पदम बोहोरा मंसिर २१ गतेदेखि नेकपाको प्रादेशिक कार्यालय धनगढीमा अनशन बसेका थिए।
उनले पार्टी विभाजन हुनबाट नेताहरुले रोक्नुपर्ने, व्यक्तिगत पारिवारीक र गुटगत स्वार्थ भन्दामाथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने, दुवै अध्यक्षले सचिवालय बैठकमा पेश गरेका प्रतिवेदन फिर्ता लिन छलफल चलाउनुपर्ने, एकताका बाँकी काम पूरा गरी अधिवेशन सम्म पार्टीलाई पुगाउनुपर्ने र संघियता, गणतन्त्र र आन्दोलनको रक्षाका लागि पार्टी एकजुट हुनुपर्ने लगायतका माग राखेका थिए।