कैलालीमा कार र टिप्पर ठोक्किदा ४ जना घाइते, १ को अवस्था गम्भीर
धनगढीः कैलालीमा कार र टिप्पर एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ सशस्त्र बाहिनी अगाडी बा १४ च ७२७८ नम्बरको कार र से १ क १००२८ नम्बरको टिप्पर एकआपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आइरहेको टिप्पर ठोक्किदा कार चालक काठमाडौँको शंकरापुरका ४१ वर्षीय बिद्यमान श्रेष्ठ सहितका ४ जना घाइते भएको जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परी घाइते हुनेमा काठमाडौँकै लैनचौर बस्ने ३६ वर्षीय बिक्रम महर्जन, काभ्रेको बनेपा बस्ने ३२ वर्षीय हरीगोपाल श्रेष्ठ र बीरगञ्जका २८ वर्षीय अविरन्द चौरसिया घाइते भएका छन्।
उनीहरु मध्ये चौरसियाको अवस्था गम्भीर छ। घाइते सबैको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ।
टिप्पर र चालक दिनेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।