सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ट्राभल्स कम्पनीले पैसा नतिरेको रिस यात्रुमाथि, भारतीय बस व्यवसायीले १३० यात्रुलाई बाटोबाटै फर्काए

२०७७ मंसिर १६, ११:४८ कमल सावद

धनगढी : भारतका विभिन्न शहरहरुका लागि धनगढीबाट गएकाहरुलाई पुनः धनगढी फर्काइएको छ ।

झण्डै १ सय ३० जनाले सोमबार वर्दादेवी टुर एण्ड ट्राभल्स धनगढीमार्फत टिकट लिएकाहरुलाई भारतीय बस व्यवसायीले भारतको पलियाबाटै नेपाल फिर्ता पठाएका हुन् । 

गौरीफन्टा सीमा क्षेत्रबाट साँझ ५ बजे पलिया गएका उनीहरुलाई राति धनगढी फर्काएको घोडाघोडी नगरपालिका लठुवाका कृष्णबहादुर ठाडा मगरले बताए ।

धनगढी फिर्ता भएका यात्रुहरु राति धनगढी बसपार्कस्थित वर्दादेवी टुर एण्ड ट्राभल्सको कार्यालय रहेको नेशनल होटल फर्किएका थिए । उनीहरु होटलको बाहिरी क्षेत्र र बसपार्क क्षेत्रमा चिसोमै रात कटाउन बाध्य भएका थिए । 

मगरले भने, ’राति २ बसले गौरीफन्टा ल्यायो । हिडेरै बसपार्क आयौ । होटलमा ठाउँ भएन । कोही बाहिर, कोहीले बसपार्कमा रात कटायौ ।’

भारतीय बस सञ्चालकहरुले धनगढीका ट्राभल्सहरुले ३ करोड नदिएको भन्दै फिर्ता पठाएका उनीहरुले बताएका छन् । 

घोडाघोडी नगरपालिका लठुवाकै बिमला महताले भनिन्, ‘२ वर्षको बच्चा पनि संगै छ । रत्नागिरी जानका लागि पहिलो पटक आएकी हुँ । सारै दुःख भयो । गौरीफन्टा सीमा क्षेत्रबाट बच्चा बोग्दा खुट्टा दुख्योे । होटलमा समेत बस्ने ठाउँ छैन् । राति बच्चासहित बाहिरै सुतेर रात बितायौ ।’

रोजगारीका लागि सोमबार भारत गएका नेपालीहरु भारतको पलियाबाट पुनः धनगढी फर्किएका हुन् । बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको वर्दादेवी टूर एण्ड ट्राभल्सबाट टिकट लिएका १० बालबालिका, २९ जना महिला र ९१ जना पुरुष धनगढी फर्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार पीडित यात्रुहरु वर्दादेवी ट्राभल्स विरुद्ध प्रहरी कार्यालयमा निवेदन दिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका राजकुमार गिरीसहितका युवाहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कर्यालयलाई निवेदन दिएका हुन् । 

यसअघि पनि वर्दादेवी टूर एण्ड ट्राभल्सले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुनालगायतका शहरका लागि भनेर पठाएका यात्रुहरुलाई बीच बाटौमै अलपत्र छोड्दै आएको छ ।

बसपार्कमा रहेको प्रहरी पोष्टले समेत रातिको समयमा भारतबाट फर्किएकाहरुलाई व्यवस्थापन गर्न नसकेको उनीहरुको गुनासो छ । यसवारे प्रतिक्रिया लिन खोज्दा वर्दादेवी टुर एण्ड ट्राभल्सका सञ्चालक लोकबहादुर साउँदले फोन उठाएनन् । 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्टले अनाहकमा दुःख दिनेलाई कानुन बमोजिम कडा कारवाही गरिने बताए ।


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस