सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ट्राभल एजेन्सीले भारत पुर्‍याएका यात्रु बाटोमै अलपत्र

२०७७ मंसिर ११, ०१:२९ कमल सावद

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का निखिल रावत शुक्रबार दिउँसो २ बजे त्रिनगर नाका हुँदै भारतको सुरतका लागि हिडे । तर मंगलबार उनीसहितका ७० जना यात्रुलाई यहाँबाट हिडेको बस गन्तव्यमा न  पुर्‍याउदै बीच बाटोमै अलपत्र छोड्यो । यात्रुहरुले पाउनुसम्मको सास्ती खेपे ।

धनगढीको त्रिनगर–गौरीफन्टाबाट भारतको बेङ्लोर पुगाउने भन्दै भाडा लिएको वर्दादेवी टुर एण्ड ट्राभल्स प्रालिले बदमासी गर्दा यात्रुहरुले दुःख पाएको गुनासो रावतको छ । 

उनले दिनेशखबरलाई भने, ‘धनगढीमा नै बसको टिकट काट्यौ । उहाँहरुले सबैलाइ टिकट पनि दिनु भयो । तर बीच बाटोमै छोडे ।’ धनगढीका टुर एण्ड ट्राभल्स कम्पनीले आफूहरुलाई भारतमा लगेर अलपत्र छोडेको पीडितको भनाइ छ । 
खासगरी त्रिनगर नाका हुँदै भारत जानेहरुले ट्राभल कम्पनीले दुःख दिन दिएको गुनासो गरेका छन् । कयौं पीडितहरुले भारतबाट फेसबुक लाइभ गर्दै आफ्नो पीडा पोखेका छन् । फेसबुक लाइभमा उनीहरुले टुर एण्ड ट्राभल्सप्रति आक्रोश पोखे । गन्तव्यमा नपुगाएको भन्दै रकम समेत फिर्ता माग गरेका छन् । 

धनगढीको वर्दादेवी र श्रीकेदार टुर एण्ड ट्राभल्सले त्रिनगर नाकाबाट ब्याङलोरका लागि ३३ जना र रत्नागिरीका लागि ३७ जना यात्रुलाई लगेको थियो । ब्याङलोर जाने यात्रुहरुबाट ८ हजार र रत्नागिरी जानेहरुबाट ५ हजार ६ सय रुपैयाँको दरले पुनामा अलपत्र छोडेको उनीहरुको गुनासो छ । 

भारतका विभिन्न शहरमा सहज र सुरक्षित साथ पुगाइदिने भन्दै टुर एण्ड ट्राभल्सले महंगो भाडा लिदै पठाउने गरेका छन् । तर उनीहरुले बीच बाटोमा नै अलपत्र छोड्ने गरेपछि यात्रीहरुले सास्ती खेप्नुपरेको छ । स्थानीय प्रशासनलाई जानकारी गराउँदा समेत कुनै सुनवाइ नभएको उनीहरुको दुखेसो ।

तर वर्दादेवी टुर एण्ड ट्राभल्सका सञ्चालक लोकबहादुर साउँदले यात्रुबाट भाडा लिए पनि भारतीय बस भएकाले समस्या सिर्जना भएको स्वीकार गरे । गौरीफन्टाबाट जाने सम्बन्धित बसले गन्तव्यसम्म नपुुग्दै अर्काे बसको व्यवस्था गर्दा समस्या भएको बताइएको हो ।

वर्दादेवी टुर एण्ड ट्रावल्स प्रालि, महाकाली–सेती, श्रीकेदार र न्यू पशुपतिले धनगढीबाट यात्रुहरुलाई भारतका विभिन्न शहरका लागि पठाउँदै आएका छन् । 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस