सुदूरपश्चिममा महिला हिंसाको अवस्था भयावह, कैलालीको हालत कस्तो
धनगढी : दशैभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अरुबेलामा भन्दा अधिकारकर्मीहरु बढी सक्रिय देखिएका छन् ।
यसैबीच सार्वजनिक भएको एक आँकडाले भने सुदूरपश्चिममा महिला हिंसाको डर लाग्दो अवस्था चित्रण गरेको छ ।
पछिल्लो ४ महिनायता प्रतिदिन सरदर २ जना महिला हिंसाबाट पीडित भएको पाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अँकडा अनुसार महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरुको अवस्था बढोत्तरी छ । साउनदेखि मंसिर ९ गतेसम्म मात्रै महिला हिंसाका १५८ उजुरी परेका हुन् ।
जवरजस्तीकरणीका ९८, जवरजस्तीकरणी उद्योगका ३८ वटा उजुरी परेका छन् । अप्राकृतिक मैथुनका ३, यौन दुराचार (बाल यौन दुरुपयोग) का ५, मानव बेचविखन तथा जवरजस्तीकरणीका १, मानव बेचबिखन तथा ओसार पसारका ४, अपहरण तथा जवरजस्तीकरणीका ६ वटा उजुरी परेका छन् । भने हाड नाताका २ र जवरजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा उजुरी परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा बढी कैलाली जिल्लामा ७७ वटा, कञ्चनपुरमा २९, डोटीमा ८, अछाममा ५, डडेल्धुरामा ९, बैतडीमा १२, बझाङमा १४, दार्चुलामा १ र बाजुरामा ३ वटा महिला हिंसाका उजुरी परेका हुन् ।
दण्डहिनता मौलाउँदो
समाजमा दिन प्रतिदिन महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरु बढेपनि न्यूनीकरण तथा पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने तर्फ भने सरकारी उदासिनता कायमै छ ।
गत असोज ७ गते बझांङको मष्टा गाउँपालिका २ की १२ वर्षिया सम्झना बिक, कार्तिक १३ गते डोटीको जोरायल गाउँपालिका ५ की १५ वर्षीया मानसिक सन्तुलन गुमाएकी बालिकामाथि अस्थायी प्रहरी चौकी गड्सेरामा कार्यरत एक प्रहरी जवानले जवरजस्तीकरणी गरे । भदौ ११ गते कैलालीको जानकी गाउँपालिका १ खैरीफाँटाकी १७ वर्षीयामाथि सामूहिक बलात्कार भयो ।
यी प्रतिनिधि घटना मात्रै हुन् । समाजमा महिला हिंसाको घटना कमी आउनुको साटो झन बढेको छ । महिला हिंसाको घटना न्यूनीकरणको लागि कडा कानून आउन जरुरी रहेको औल्याइएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि कुमारी थापाले पुरुषप्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको बताउँदै अपराधिलाई फाँसीको सजाय नभएसम्म महिलाहरुमाथि हुने घटनामा कमी नआउने बताउँछिन् ।
पछिल्लो समय बढ्दो सचेतनाले पनि महिला हिंसाको घटना बाहिर आउन थालेको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले पहिले–पहिले धेरै घटना गाउँघरमै लुक्ने तथा मिलापत्र गर्ने प्रबृतिलेगरेको भएपनि अहिले बढ्दो सचेतनाले महिलामाथि हुने घटना बाहिर आएको बताउँछन् । महिला हिंसा न्यूनीकरण तथा रोक्नमा जनचेतना तथा सचेतना नै सबैभन्दा प्रभावकारी अस्त्र भएको उनको भनाइ छ ।