सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिवारे महिला उद्यमी मेलामा एक्सिसका छात्रा खाजाका परिकार बिक्री गर्दै

मेलाबाट हुने आम्दानी समाजसेवामा खर्च गरिने

२०८१ माघ ५, ०६:२५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा शनिवारे महिला उद्यमी मेलामा एक्सिस विद्याश्रमका छात्राहरूले खाजाका परिकार बिक्री गर्दै आएका छन्।

कक्षा ११ मा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेका पाँच जना छात्राले मेलामा खाजाको स्टल राखेका हुन्। शनिवारे मेलामा उनीहरूले चटपट, चिया, पकौडा, पपकर्न र चिउरा बिक्री गरिरहेका छन्। मेलामा सहभागी भएर व्यवसाय गर्ने अनुभव बटुली रहेको बताउने उनीहरूले शनिवारे मेलाबाट भएको आम्दानी समाजसेवामा खर्च गर्ने भएका छन्।
पाँच जना छात्रा स्टल चलाउँदै
धनगढी उपमहानगरपालिकाले शनिवार लगाउँदै आएको महिला उद्यमी मेलामा धनगढी–५ मा रहेको एक्सिस विद्याश्रमका पाँच जना छात्राले स्टल राखेका छन्। कक्षा ११ मा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेका पाँचै जना छात्राले मासको पकौडा, सादेको सुन्तला, पपकन, चिउरा, चना, चटपटे र चिया बिक्री गर्दै आएका छन्। व्यवसाय गर्ने सिप सिक्न मेलामा स्टल राखेको बताउने उनीहरुलाई विद्यालयले स्टल राख्न प्रेरित गरेको हो।

लगातार तेस्रो शनिवार मेलामा सहभागी भएका उनीहरुले सानो लगानीबाट व्यवसाय कसरी गर्ने भन्ने सिकिरहेको बताएका छन्। थोरै लगानीबाट व्यवसाय कसरी थाल्ने भन्ने अनुभव बटुली रहेको छात्रा अभिलाषा मल्लले बताइन्। उनले विद्यालयले मेलामा सहभागी हुन प्रेरित गरेको र अहिले खाजाका परिकार बनाएर बिक्री गरिरहेको बताइन्।
पृष्ठपोषण पाएर स्वादमा सुधार गर्दै
पहिलो शनिवार पाँच सय आम्दानी भएको बताउने उनीहरूले दोस्रो शनिवार एक हजार आम्दानी गरेको बताएका छन्। तेस्रो शनिवार पनि भने उनीहरूले चटपटे, पपकन, चना र चिया बिक्री गरिहरेका छन्। स्टलमा आएर खाजाको परिकार खानेहरूबाट उनीहरूले स्वाद बारे पृष्ठपोषण समेत लिने गरेका छन्। उपभोक्ताले दिएको पृष्ठपोषणका आधारमा स्वादमा सुधार गर्ने प्रयास गरिरहेको अर्की छात्रा सोहानीले बताइन्।

उनले स्टलमा आउने ग्राहकले स्वादबारे दिएको पृष्ठपोषणअनुसार सुधार गर्ने प्रयास गर्दै व्यवसाय गर्न सिकिरहेको बताइन्। शनिवारको दिन विद्यालय बिदा हुने भएकाले व्यवसाय गर्ने अनुभव बटुल्न शनिवारे मेलाले सहयोग गरेको निर्मला बिष्टले बताइन्। उनले शनिवारको छुट्टी सदुपयोग गर्न मिलेको बताएकी छन्। ‘हामीले शनिवारको दिन सदुपयोग गरिरहेका छौँ। थोरै लगानीबाट व्यवसाय गर्ने अनुभव हासिल गरिरहेका छौँ,’ उनले भनिन्, ‘स्टलमा आउनेहरूले राम्रो प्रतिक्रिया दिनुहुन्छ।’

शनिवारे महिला उद्यमी मेलाले थोरै लगानीबाट व्यवसाय कसरी सुरू गर्ने अनुभव दिने पाँचै जना छात्राको विश्वास छ। मेलाबाट भएको आम्दानी समाजसेवामा खर्च गर्ने योजना रहेको यमुना भट्टले बताइन्। उनले मेलाबाट हुने आम्दानी अनाथालय र वृद्धाश्रमलाई सहयोग गर्ने बताइन्। ‘हामीले मेलाबाट भएको आम्दानी समाजसेवामा खर्च गर्ने योजना बनाएका छौँ। हामीले अनाथालय र वृद्धाश्रमलाई सहयोग गर्ने हो,’ उनले भनिन्। धनगढी उपमहानगरपालिकाले मंसिर १ गतेबाट धनगढीस्थित पार्कमोडमा शनिवारे मेला लगाउन थालेको हो। महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले उपमहानगरले शनिवारे मेला लगाउन थालेको हो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस