सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजस्व उठाएर ३० जना अस्थायी शिक्षकलाई तलब खुवाउँदै बझाङकाे साइपाल

२०७७ कार्तिक २८, ०४:४५ खबर संवाददाता

प्रताप ओली, बझाङ: साइपाल गाउँपालिकाले राजस्व उठाएर ३० जना अस्थायी शिक्षकलाई तलब खुवाइरहेको छ । 

राज्यका हरेक सेवा सुविधाबाट बञ्चित पालिकामा रहेका ४ आधारभूत र ३ माद्यामिक विद्यालयका ३० शिक्षक अहिले गाउँपालिकाको राजस्वकै भरमा तलब खाइरहेका छन् । 

गाउँपालिकाभित्रका धुली माध्यमिक विद्यालय धुली, काँडा माद्यामिक विद्यालय काँडा, धलौन माद्यामिक विद्यालय धलौन, तपोवन आधारभूत जिमा, माना सरोवर आधारभूत विद्यालय काया, सुर्मादेवी आधारभूत विद्यालय बलौडी र भवानी आधारभूत विद्यालय बलौडीमा ३० जना अस्थायी शिक्षकले पढाइरहेका छन् ।    

यार्सागुम्बा तथा अन्य जडीबुटी, भेडाच्याङ्ग्राबाट राजस्व संकलन गरि चौमासिक रुपमा तलब खुवाइरहेको गाउँपालिका अध्यक्ष्य राजेन्द्र धामीले बताए ।

मासिक रुपमा ३० जना शिक्षकका लागि ६ लाख ५० हजारसम्म तलब गाउँपालिकाले दिदै आएको अध्यक्ष धामीको भनाई छ । उनका अनुसार जडीबुटी संकलन कर्ता स्थानीयलाई  ३००, छिमेकीलाई ५००, जिल्ला भित्रकालाई १००० प्रदेशभित्रकोलाई  १५००, प्रदेशबाहिरकोलाई ३००० हजार रुपैंया राजस्व र भेडाच्यांग्रा गाउँपालिकाबाट बाहिर निर्यात गर्न लिदा प्रति भेडाच्याङ्ग्रा १०० रुपैंया र बाहिरबाट गाउँपालिकाभित्र चराउन ल्याउँदा १० रुपैंयाँ राजस्व गाउँपालिकाले उठाउँदै आएको छ ।

यसपटक कोरोनाका कारण जडीबुटी संकलन गर्न जानेहरु साइपालमा नगएकाले राजस्व नउठेको अध्यक्ष धामीले बताए । राजस्वमा कमी आउँदा यसवर्ष गाउँपालिकाको सञ्चित कोषमा रहेको रकम (अल्या)बाट तलब खुवाउनुपर्ने अवस्था सिर्जना भएको छ । 
 

कमेन्ट लोड गर्नुस