सुदूरपश्चिममा विद्युत कटौती हुँदैन, ढुक्क भएर तिहार मनाऔं : प्राधिकरण
धनगढी : सुदूरपश्चिममा तिहारको अवधीमा विद्युत कटौती नहुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख जगदिश जोशीले तिहारको अवधीमा विद्युत कटौती नहुने बताउँदै ढुक्क भएर पर्व मनाउन सर्वसाधारणलाई जानकारी गराएका हुन् । विद्युत कटौतीको समस्या हुन नदिन आवश्यक पर्ने पूर्वतयारी भैसकेकाले ढुक्क संग दिपावली मनाउन सकिने क्षेत्रीय प्रमुख जोशीको भनाइ छ ।
उनले भैपरी आउने समस्या हल गर्न प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखिने समेत बताए । यसैबीच उनले तिहारको अवधीभर कार्यालय प्रमुखलाई कार्यालय नछाड्न समेत निर्देशन दिइएको दिनेश खबरलाई बताए । केही वर्ष पहिले सुदूरपश्चिममा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । तर पछिल्लो समय विद्युुत सेवामा सुधार गरिएको छ ।
सुदूरपश्चिममा सामान्य समयमा दैनिक ६० मेगावट विद्युत माग हँुदै आएको छ । दिपावालीमा उद्योगहरु नचल्ने भएपनि साँझ सबैले घर–घरमा दिपावाली गर्ने भएकाले ७० मेगावाटसम्म विद्युत खपत हुने बताइएको छ । त्यसको व्यवस्थापन सहजै हुने प्राधिकरण अत्तरियाले जनाएको छ ।
यसैबीच नेपाल विद्याुत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले दिपावालीमा विद्युत कटौती हुन नदिन सबै तयारी पूरा भएको बताए ।