बेसहाराहरुको सहारा घरमा यसरी टर्यो यसपालिको दशैं
धनगढी : अरु बेलामा भन्दा पनि दशैंमा जो कोहीले एक जोर कपडा जोहो गर्छन् । अरु बेला साग सिस्नुले टारे पनि दशैंमा एक छाक मिठो मसिनोको जोहो गर्नुपर्छ भन्ने आम बुझाइ छ ।
समाजमा यस्तो पनि स्थान छ, जहाँ विहानको छाक टारेपछि साँझलाई समस्या हुन्छ । १ जोर कपडाको लागि पर्व नै कुर्नुपर्छ । यसैमध्ये अरुको दान, सहयोगले सञ्चालन हुँदै आएको ‘सहारा घर’को यसपालिको दशैं अरुको दान सहयोगले टरेको छ ।
सडकमा भेटिने असहाय मानसिक रोगीहरूको आश्रयको रुपमा स्थापित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ मा सञ्चालित ‘सहारा घरको दशैं टरेको छ । स्वादेश तथा विदेशमा रहेका दाताहरुले पठाई दिएको दान सहयोग रकमबाट सहारा घरको दशैं टरेको हो ।
सहारा घरका सञ्चालक वलबहादुर बिष्टले मनकारी व्यक्तिहरुको सहयोगमा सहारा घरमा आश्रित पहुना (असहाय)हरुलाई १÷१ जोर कपडा र १ छाक मिठो भोजन गराएको जानकारी दिए ।
सञ्चालक बिष्टले भने, ‘सरकारको आशामा सहारा घर थियो । सरकारी निकाय आएनन्, तर स्वादेश तथा विदेशमा रहनुभएका मनकारी व्यक्तित्वहरुको सहयोगले यसपालिको दशैं टरेको छ । ९४ जना आश्रित पहुनालाई १÷१ जोर कपडा र मिठो भोजन खुवायौ ।’
उनका अनुसार हाल इजराइल बस्दै आएका बेलवारी मोरड्ढका शैलेन्द्र एम्फु राई, बुटवलका राजु गुरुङ र रुपा राई, मोरङका रोजी पाहिम, प्रकाश पाहिम, आशा अधिकारी, अर्घाखाँचीका लभली भट्टराई, कास्कीका रमेश नेपाल, गोरखाका सीमा थापा मगर, रोजिना अछामी मगर र बागलुङका तारा काउचा मगरले सहयोग गरेका हुन् ।
त्यस्तै, कैलालीको लम्की चुहा नगरपालिका ८ का ललित बिष्ट, लम्कीकै केशव बिष्ट र सन्देश फेन्सी स्टोर लम्कीले पनि सहारा घरमा आश्रितलाई दशैंमा सहयोग दिएको हो ।
बलराम र लक्ष्मीको मायाको छाँहरीमा फक्रिँदै सहारा घर
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ मा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूको आश्रय स्थल हो । जहाँ हरेक दिनको ४ बजेको विहानी नित्यकर्म संगै विभिन्न गतिविधि शुरु हुन्छ ।
जहाँ ४ कोठे पक्की घर छ । छेउमै जस्ता पाटाले छाएको टहरो छ । वरपरि ४ कठ्ठा फराकिलो जमिनमा तारबारले घेरिएको छ । यही दुनियाँ मानसिक स्वास्थ्य समस्याले बेघर तथा सहाराविहिनहरुको सहारा घर हो । जुन बलराम र लक्ष्मीको माया र ममताको छाँहरीमा फक्रिरहेको छ । जहाँ अहिले ९४ जनाले आश्रय पाइरहेका छन् । जसमध्ये १२ जना त टुहुरा बालबालिका नै छन् ।
सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्ट दम्पतिले २०७० देखि सञ्चालन गरिरहेका छन् । शुरुवाती अवस्थामा परिवार र समाजको छिछि दुरदुरको अवस्था संग जुझ्दै हाल उनीहरु परिवार समाजमा प्रेरणाको स्रोत बन्न पुगेका हुन् ।
पहिले छिछि दुरदुर, अहिले सम्मान
सडकमा भौतारिंदै फोहोरमा सुत्ने र सडेगलेको खाने अवस्थामा रहेकाहरूलाई सहारा घरको ओत दिन पाएकोमा सञ्चालक विष्ट सन्तोष मान्छन् । उनी भन्छन्, ‘सडक–मानव हुँदा हिजोसम्म उनीहरूलाई सबैले पागल भन्थे र छिछि दूरदूर गर्थे, आज उनीहरूको जिउने शैली फेरिएको छ । यो मेरो लागि आनन्दको कुरा हो ।’
परिवार समाजले पनि आजभोलि बिष्ट दम्पतिलाई आदर भावले हेर्दै आएको छ । लक्ष्मी भन्छिन् ‘शुरुका दिन त निकै कहाली लाग्दो थियो । निकै मुस्किल थियो । तर आजभोलि पहिलेको भन्दा सहज भएको छ । परिवार र समाजले घृणाको दृष्टिले हेर्थे, आजभोलि सम्मानभावले हेर्छन् ।’
सहारा घर सञ्चालक दम्पति बलबहादुर बिष्ट र लक्ष्मी पौडेल ।
उसो त विष्टले पेशागत र रहरको काम गर्ने क्रममा विभिन्न समयमा विविध क्षेत्रको अनुभव बटुलेका छन् । लामो समय पत्रकारिता, कलाकार, खेलाडी, स्वास्थ्यकर्मीसम्मको भूमिकामा काम गरे सन्तुष्टि पाउन नसकेको सुनाउँछन् । ‘अहिले बेसहाराहरुको सेवामा समर्पित हुँदा भने असाध्यै आनन्दित महसुस भइरहेको छ’, उनी भन्छन् ।
बिचल्लीमा परेका, मानसिक रोगी लगायतलाई सहाराको हात दिएका विष्ट कुनै वेला आफूले पनि मानसिक स्वास्थ्य समस्यामा परेका थिए । उनी डिप्रेसनको बिरामी भएका थिए । तर, समयमै परिवारको हेरचाह र प्रेम पाएर उनी त्यसबाट पार पाउन सफल भए । ‘परिवारको माया नपाएको भए म पनि सडकमा निस्किन्थें होला’, उनी भन्छन्, ‘यस्तो अवस्थामा सबैभन्दा राम्रो उपचार नै माया–प्रेम हुँदो रहेछ ।’
डिप्रेसनलाई जितेपछि उनी सबै रहरका काम छोडेर स्वास्थ्य क्षेत्रमा केन्द्रित भए । फार्मेसी पढेका उनी कैलालीको बौनिया बजारमा क्लिनिक खोलेर बसे ।
२०७० सालमा उनले सडक जीवन बिताउँदै आएका एक मानसिक रोगी वृद्धलाई देखे, जसको खुट्टाभरि घाउ थियो र घाउमा कीरा परेको थियो । वृद्धलाई सडकबाट क्लिनिकमा ल्याएर उपचार गरेपछि त्यही ठाउँमा पु¥याएर छाडिदिए । तर, उनलाई त्यो रातभरि निन्द्रा लागेन । बिहानै उठेर ती वृद्धलाई खोजेर घरमै ल्याएर राखे ।
विष्टले त्यसको केही दिनपछि कैलालीको लम्की सडकबाट मानसिक सन्तुलन गुमाएका एक युवकलाई पनि घरमा ल्याए । बैतडी जिल्लाको पुचौडी नगरपालिका–८ का ३५ वर्षीय महेश कुँवर घरायसी तनावका कारण मानसिक सन्तुलन गुमाएपछि सडकमा भौतारिंदै कैयौं दिनको यात्रापछि लम्की पुगेका थिए ।
समय बित्दै जाँदा उनले घरमै आश्रय दिएर राख्नेको संख्या बढ्दै गयो । त्यसपछि छिमेकीबाट नराम्रो टीका–टिप्पणी सुन्नेदेखि घरमा ठाउँ साँगुरो भएपछि छुट्टै ठाउँ खोज्न बाध्य भएको उनी बताउँछन् ।
२०७२ सालमा सहारा घर नामको संस्था दर्ता गरे । त्यसपछि विभिन्न सहयोगी र दाताहरूको सहयोगमा २०७४ मंसिरमा टहरो निर्माण गरेर मानसिक रोगीहरूलाई राख्न थाले । बिरामीलाई उचित सुविधासहित राख्नुका साथै उपचार पनि गरिन्छ । उनीहरूको उपचारमा विष्टलाई हेल्थ असिस्टेन्ट (एचए) लक्ष्मी सघाउँछिन् ।
सञ्चालक बिष्ट अनुसार, उद्धारको काम शुरू गरेयता सहारा घरको हेरचाह र माया पाएर ८८ जना निको भई पूर्ववत् सामान्य अवस्थामा फर्किएर परिवारसँग पुनर्मिलन भएको छ । जसमध्ये केही व्यक्ति संस्थामै सेवारत छन् ।
अहिले सहारा घर सहयोगी दाताहरुबाट जन्मदिन, विवाहको वर्षगाँठ, श्राद्धको अवसरमा प्राप्त हुने सहयोगबाट चल्ने गरेको छ । तर, सहयोगले मात्र चल्न गाह्रो परेको भन्दै व्यवस्थापनको काम सरकारले गर्नुपर्ने उनी बताउँछन् ।
‘दानको भरमा संस्था चलाउन सकिंदैन । यदि सरकारले जिम्मा लियो भने म जीवनभर निःशुल्क सेवा गर्न तयार छु’, विष्ट भन्छन् ।