सेतीको कोरोना अस्थायी अस्पतालमै दशैंको जमरा र टीका !
कैलालीको टीकापुरकी पुष्पा वि.क सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत छिन् ।
कोरोना अस्पताल सञ्चालन भएदेखि उनी नर्सको रुपमा बिरामीको हेरचाहमा खटिएकी छिन् । कोरोना अस्पतालबाट नजिकै रहेको होटलमा बस्ने र बिरामीहरुको सेवा गर्ने उनको दैनिकी हो । दशैँ आएको भन्दै उनको परिवारले टीकापुर बोलाए । तर उनी घर जान भने पाइनन् । कोरोना संक्रमितको सेवामा रहेकी उनी टीकापुर जान नपाएको बताउँछिन् ।
उनी भन्छिन, ‘कोरोना अस्पतालमा अस्पताल सञ्चालक समितिको सरहरु पनि आउनु भयो । टीका थापियो । रमाइलो भयो । कोरोना संक्रमितहरुलाई पनि टीका दियौ । उहाँहरुले पनि टीका लगाउनु भयो ।’
सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल र प्रयोगशालाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले कार्यक्षमा नै दशैँ मनाएका हुन् ।
सहकर्मी बीचमा टीका र जमारा लगाएर दशैँ मनाएको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताका नर्स ईन्चार्ज कल्पना भट्टले बताउँछिन् । उनले भनिन्, ‘यसपालिको दशैं कोरोना संक्रमितहरु संग मनायौ । घर जान नपाए पनि खुशी छौ । किन कि, यसपालिको दशै यस्तै छ ।’
कोरोना अस्थायी अस्पतालमा २ चिकित्सक, ५ नर्स, सफाई कर्मचारीहरु र सुरक्षा गार्डले दशैं मनाएका हुन् । ३९ जना संक्रमित र तिनका आफन्तहरुलाई समेत उनीहरुले टीका र जमरा दिएका छन् । उनीहरुले पनि अस्पतालमा नै दशैँ मनाएका छन् ।
कोरोना अस्पतालको सेवाका लागि खटिनु भएका डाक्टर निराजन शर्माले बिरामीहरुको सेवामा नै दशैँको दिन बितेको बताए । उनले भने, ‘हामी अस्पतालमा नै छौ । कोरोना संक्रमितलाई हेर्नु छ । अस्पतालको आईसियू समेत हेर्नु छ । अरु बिरामीहरु पनि यतै छन् । हाम्रो पेशमा नै यस्तै हो । कुनै दुःखी छैन्’ उनले भने ।