सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ट्रेट अफ होर्मुजमा अमेरिकी आक्रमण दाबी, इरानले अस्वीकार गर्‍यो

२०८३ वैशाख २२, १२:३६ खबर संवाददाता

काठमाडौं: डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’माथि आक्रमण गरेको दाबी गरेका छन्। ट्रम्पका अनुसार ती साना डुंगाहरू नष्ट गरिएको र इरानसँग सीमित साधन मात्रै बाँकी रहेको बताएका छन्।

यो जलमार्ग प्रायः अवरुद्ध जस्तै बनेको अवस्थामा अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत उक्त आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरी ती डुंगामाथि कारबाही गरेको जानकारी दिएको छ।

तर इरानले भने यस्तो कुनै आक्रमण नभएको भन्दै अमेरिकी दाबीलाई पूर्ण रूपमा गलत प्रचार भएको जनाएको छ।

यसबीच, Maerskका अनुसार ‘एलायन्स फेयरफ्याक्स’ नामक अमेरिकी झण्डावाला जहाज अमेरिकी सैन्य सुरक्षामा सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको छ। फेब्रुअरीदेखि खाडी क्षेत्रमा रोकिएको उक्त जहाज बिना अवरोध यात्रा पूरा गरेको र सबै चालकदल सुरक्षित रहेको कम्पनीले जनाएको छ।

अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेपछि यो जलमार्ग प्रायः अवरुद्ध भएको थियो। प्रतिउत्तरस्वरूप इरानले विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास ओसारपसार हुने यस महत्वपूर्ण मार्ग बन्द गरेको थियो।

अप्रिलको सुरुवातमा युद्धविराम घोषणा भए पनि हालसम्म सीमित जहाजहरूले मात्र यो मार्ग प्रयोग गर्न सकेका छन्। साथै, अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी पनि जारी राखेको छ।

फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान तनावका कारण करिब २ हजार जहाजमा रहेका २० हजार नाविकहरू अझै प्रभावित भएका छन्। यसअघि अमेरिकाले आफ्ना नौसेना र व्यापारीक जहाजहरू सुरक्षित रूपमा जलडमरूमध्य पार गरेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै चेतावनी स्वरूप गोली चलाइएको बताएको छ।
 

कमेन्ट लोड गर्नुस