सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुलेन तलेजुः जीवितदेवी कुमारीघरमै

२०७७ कार्तिक ९, ०७:४६

हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन् ।  

आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको प्रभावका कारण औपचारिक पूजामा सीमित गरिएकाले सर्वसाधारणको आगमन भएन । 

 तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४  बोका, ३२ राँगा र ३२ हाँस बलि दिइँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित  पूजा गरिएको बताउनुभयो । किंवदन्तीअनुसार सत्राँैं शताब्दीमा  राजा जयप्रकाश मल्लले तलेजु भवानीसंँग त्रिपासा खेल्ने गरेका थिए । राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्छ । 

उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेको जनविश्वास छ । त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रुपमा पुजिन थालेको हो । कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भई पछि काठमाडाँै र ललितपुरमा विस्तार भएको भक्तपुरका तलेजुका मूल नाइके जोशीले बताए । 

हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दशैँघरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यस वर्ष भने टुटेको छ । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई तलेजुस्थित दशैँघरमा नल्याई क्वाठण्डौँस्थित कुमारीघरमा राखिएको छ । आज नवमीमा क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले बताए ।
 

कमेन्ट लोड गर्नुस