'न्यायाधिशलाई झुक्याएर डिएफओ भट्टलाई हिरासतमा राख्न पाँच दिनको म्याद थप'
धनगढीः कैलाली प्रहरीले न्यायाधिशलाई नै झुक्याएको घटना सार्वजनिक भएको छ। हाल प्रहरी हिरासतमा रहेका डिएफओ कृष्णदत्त भट्टलाई थुनामा राख्न पाँच दिन म्याद थपाउन प्रहरीले न्यायाधिशलाई नै झुक्याएको दाबी गरिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच लाख घुस मागेको आरोप लगाएपछि पक्राउ परेका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई पाँच दिन प्रहरी हिरासतमा राख्न प्रहरीले न्यायाधिशलाई झुक्याउने काम गरेको भट्टका कानुन व्यवसायी अधिवक्ता गम्भीरसिंह ऐरको दाबी छ। चैत २ गते मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा भट्टलाई पक्राउ गरिएको थियो। भट्ट अहिले कैलाली प्रहरीको हिरासतमा छन्।
अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भट्टलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली अदालतले बुधवार बिहान १० बजे नै म्याद थप गराएको अधिवक्ता ऐरले बताए। उनले म्याद थप गराउन प्रहरीले भट्टलाई अदालत समक्ष पेस नगरेको बताए।
प्रहरी थुनामा रहेका व्यक्तिलाई थप अनुसन्धान गर्न समय माग भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ अनुसार म्याद थप हुनुपर्ने भए पनि डिएफओ भट्टलाई न्यायाधिश समक्ष उपस्थित नै नगराई म्याद थपिएको अधिवक्ता ऐरले बताएका छन्। भट्टका आफन्तले समेत म्याद थपका लागि प्रहरीले भट्टलाई न्यायाधिश समक्ष उपस्थित नगराएको दाबी गरेका छन्। उनीहरूले प्रहरीले झुक्याएर बुधवार बिहानै पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन्।
तर जिल्ला सरकारी वकिल कार्यालय कैलालीका न्यायाधिवक्ता देवराज भारतीले भने प्रहरीले भट्टलाई म्याद थप्ने प्रयोजनका लागि बुधवार बिहानै सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको दाबी गरेका छन्। तर, भट्टका वकिल र आफन्तले भने प्रहरीले न्यायाधिशसमेतलाई झुक्याएर अदालतमा उपस्थित नै नगराई पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन्।
प्रहरीले न्यायाधिशलाई झुक्यायोः अधिवक्ता ऐर
डिएफओ भट्टका कानुन व्यवसायी अधिवक्ता गम्भीरसिंह ऐरले प्रहरीले भट्टलाई अदालतमा उपस्थित नगराएरै म्याद थप गराएको बताएका छन्। उनले न्यायाधिशलाई समेत प्रहरीले झुक्याएको जिकिर गरेका छन्। यता जिल्ला अदालत कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले भने प्रहरीले म्याद थप्न थुनामा रहेको व्यक्तिलाई अदालत समक्ष उपस्थित गराउनुपर्ने बताएका छन्। उनले भट्टलाई अदालतमा उपस्थित नै नगरी बिहानै पाँच दिनको म्याद थपेको विषय आफूलाई जानकारी नभएको बताए।
यो समाचार तयार गर्दासम्म भट्टलाई अदालत समक्ष पेस नगरेको प्रहरीले साँझ पाँच बजे मात्रै अदालतमा लगेको छ। अदालतमा उपस्थित नै नगराई म्याद थप गरेको विषय सार्वजनिक हुने डरले कार्यालय समय सक्किएपछि भट्टलाई अदालत समक्ष उपस्थित गराइएको अधिवक्ता ऐरले बताए। सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवराज भारतीले ५:१२ मा दिनेशखबरलाई फोन गरेर भट्लाई प्रहरीले अदालतमा उपस्थित गराएको जानकारी दिए।
यो समाचार तयार गर्न सुरुमा म्याद थपको विषयमा सोधखोज गर्दा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले भट्टलाई बुधवार बिहानै अदालतमा उपस्थित गराएर म्याद थप भएको बताएका थिए। उनले अदालतमा सबै प्रक्रिया पूरा गरेर म्याद थप भएको बताए। तर जिल्ला सरकारी वकिलको कार्यालयले भने साँझ पाँच बजे मात्रै भट्टलाई अदालतमा पेस गरिएको जानकारी दिएको छ।
अदालतमा भट्टलाई उपस्थित नगराएरै म्याद थप गरिएको विषय सार्वजनिक हुने डरले प्रहरीले बिहानै म्याद थप गर्न लगाएर साँझ मात्रै उनलाई जिल्ला अदालतमा पेस गरेको दाबी अधिवक्ता ऐरले गरेका छन्। उनले भने, 'प्रहरीले भट्टलाई अदालत समक्ष उपस्थित नै नगराएर न्यायाधिशलाई समेत झुक्याएर म्याद थप्ने काम गरेको छ। पछि यो विषय सार्वजनिक हुने डरले साँझ मात्रै अदालतमा ल्याउने काम भएको छ। प्रहरीले यो पटक न्यायाधिशलाई समेत झुक्याउने काम गर्यो ।'