सशस्त्र प्रहरीका दुई डिआइजीको पदावधि एक वर्ष थप
काठमाडौँः सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डिआइजी) प्रदीप कुमार पाल र लक्ष्मणबहादुर सिंहको पदावधि एक वर्षका लागि थप गरिएको छ। यसअघि चार जना डीआईजीको म्याद थपका लागि सिफारिस भए पनि मन्त्रिपरिषद्ले प्रारम्भमा प्राविधिक समूहका दुई जनाको मात्र अवधि बढाएको थियो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छुटेका साधारण समूहका डीआईजी पाल र सिंहको पनि आज एक वर्ष पदावधि थप गर्ने निर्णय गरिएको हो। हाल लक्ष्मणबहादुर सिंह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत छन् भने प्रदीप कुमार पाल सशस्त्र प्रहरी बलको कार्य विभागमा कार्यरत छन्।
चारै जना डीआईजी २०७८ साल चैत ६ गते बढुवा भएका थिए भने उनीहरूको नाम बढुवा समितिले २०७८ फागुन २७ गते सिफारिस गरेको थियो। चार वर्षे पदावधि अनुसार उनीहरूको कार्यकाल चैत ५ गते सकिन लागेको थियो।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ (ग) अनुसार डीआईजी र एआईजीको पदावधि चार वर्षको हुने व्यवस्था छ। साथै उपनियम (२) अनुसार महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले थप एक वर्ष पदावधि बढाउन सक्ने प्रावधान रहेको छ।
पदावधि थप भएसँगै पाल र सिंह आगामी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।