कोरोनाले कैलाली र कञ्चनपुरका थारुहरुको दशैँ पनि खल्लो
धनगढीः गत विगतका वर्षहरुमा यतिबेला उल्लासमय हुने कैलाली–कञ्चनपुरका थारु बस्तीहरु दशैँ आउन १ दिन मात्र बाँकी रहेका बेला सुनसान छन् ।
मादल र मन्जिराको आवाजको रौनकले चाडपर्वको उल्लासमा छुट्टै खालको उर्जा थप्ने भएपनि यो वर्ष भने कुनै पनि समुदायमा त्यो रौनक छैन् । मौलिक संस्कृतीको जर्गेना गर्न सांकेतिक रुपमा दशैँ मनारहेको भएपनि विगतमा जस्ता उत्साह नरहेको कैलाली उदासीपुरका कृष्ण चौधरीले बताए । उनले भने, ‘पहिलेका वर्षहरुमा दशैँमा नाँचगान हुँन्थ्यो। गाउँमा सारै रमाइलो हुन्थ्यो । तर यो वर्ष कोरोनाका कारण केही रमाइलो छैन् । दशैँ आएको अनुभुती भएको छैन् ।’
गतमा जमरा राखेको दिनदेखि नै थारु वस्तीमा सखिया नाँच नाँच्ने गरिन्थ्यो । ठूलो गुरुवा (पुजारी) र कुल देउथान अथात पूजा गर्ने स्थान कालिमाईमा देवीदेवताको पूूजा आराधनासहित ट्रासन ठोकेपछि मात्रै सखिया नाँच्न नाच्न पाउने रितीरिवाज थारु समुदायमा रहेको छ ।
तर कोरोनाको जोखिमका कारण जमघट हुने अवस्था नरहेपछि सखिया नाँच नाचिएको छैन्। यस्तै यसवर्षको दशैँमा झुम्रा नाँच पनि नाचिएको छैन्। नाँच प्रतियोगिताको समेत आयोनना हुने गरेको थियो । सबै मौलिक परम्पराअनुसार दशैँ मनाउन नपाउँदा खल्लो अनुभुती हुन थालेको गौरीगंगा नगरपालिकाको लिक्माका मेलाराम टेर्राले बताए ।
उनले भने, ‘यो वर्ष सामाजिक दुरी अनिवार्य छ । भिडभाड भए कोरोनाको संक्रमण हुने चिन्ता छ । हाम्रो क्लब पनि छ । क्लबले मास्क वितरण गरेको छ । नाँचगान भने छैन् । गाउँमा रमाइलो गर्न नाँचगान आवश्यक हो । तर गर्न पाएका छैनौँ ।’
धनगढी उप–महानगरपालिका वडा नम्बर १६ को भादामा रहेका थारु होमस्टेमा पनि दशैँका बेला विगत १० वर्षदेखि सखिया, झुम्रा नाँचले पर्यटकलाई स्वागत गरिँदै आएको थियो। तर, यो वर्ष कोरोनाको कारणले होमस्टे पनि सुनसान छ । भादा गाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए ।
उनले भने, ‘संस्कृतीलाई बचाउन मात्र दशैँ मनाउदै छौ । नाँचगानको कार्यक्रम छैन् । मादल बजाएको सुन्न पनि पाएको छैन् । यसपाली कोरोनाको डर छ ।’
थारू समुदायले शिव–पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको कामना गर्ने गर्छन् । १५–२० जनाको समुहमा सखिया नाच्ने युवती फरिया, चोलिया, बुट्टेदार लेहंगा र थारु गरगहनामा सजिएका हुन्छन् ।
तराईका थारु बाहुल्य बस्तीमा दशैँभरी मादल नबजेको दिन हुँदैन् थियो । खाना खाइसकेपछि उनीहरू हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्दै आएका छन् ।
तर यो वर्ष कोरोना महामारीका कारण थारु समुदायमा समेत मौलिक संस्कृती अनुसार दशैँ मनाउन नसकिएको गुनासो गरिएको छ ।