सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानको धान खरिद गर्न सहकारीलाई अनुदान

२०७७ कार्तिक ५, ०६:१३ रासस

काठमाडौँ: सरकारले किसानको धान खरिद गर्नका लागि सहकारीलाई अनुदान प्रदान गर्ने भएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलार्ई प्रतिक्विन्टल रु ११२ अनुदान दिने मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले बताए । मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७ पारित गर्दै सहकारीलाई सहयोग गर्ने भएको हो । 

सहकारीले यसरी न्यूनतम मूल्यमा धान खरिद गर्दा सरकारले धानको न्यूनतम समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ तोकेको थियो । उनले कृषि उत्पादन र कृषकको हितमा हुने तथा धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भएमा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने बताए । 

करिब १७५ सहकारीले डेढ लाख मेट्रिक टन धान खरिद गर्न सक्ने आशय व्यक्त गरिसकेको उपसचिव आचार्यले जानकारी दिए । उनका अनुसार मन्त्रालयले चाँडै नै सूचना प्रकाशित गरी सबै सहकारीलाई आह्वान गर्ने छ । धान खरिद गर्दा सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन् । त्यसभन्दा बढी चिस्यान भए एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारित गर्नेछन् । 

यसरी न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुने र किसान लाभान्वित हुनेछन् भने सहकारीमार्फत काम हुँदा कृषिमा सहकारीको भूमिका कुरामा मात्रै होइन, व्यवहारमा समेत स्थापित हुँदै जाने उनको भनाइ छ । उपसचिव डा. आचार्यका अनुसार कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने मन्त्रालयका योजना रहेको रहेको छ ।

कमेन्ट लोड गर्नुस