निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ।
प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ। जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ। जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ। मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ।
निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा परिचालिन छन्। निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी खटिएका छन्। सशस्त्र प्रहरीले ३१ हजार जनशक्ति परिचालन गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ८ सय जनशक्ति फिल्डमा सूचना सङ्कलनको लागि खटिएका छन्। गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले भन्छन्, ‘करिब साढे ३ लाख सुरक्षाकर्मी आज फिल्डमा छन्।’
प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको छ। नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा संकलन गर्ने जिम्मेवारी पाएको छ।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी दोस्रो घेरामा र सेना तेस्रो घेरामा खटिएका छन्। यसरी एकीकृत फौजले मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ।