सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडाध्यक्षको छोरा

२०७७ कार्तिक २, ०५:२६

-अभिषेक भण्डारी

‘सब्जी सब्जी’ बाहिर सब्जिवाला आइसकेछ। घडी हेरेको बिहानको ७ः३० बजिसकेछ। म हतारहतार उठे नित्यकर्म सकेर चिया खाएपछि पढ्न बसे। तर किताबतर्फ मेरो ध्यान जान सकेन। हिजो रातिको त्यो हावाहुरीले गर्दा धेरै जसो घरका छानाहरु उडाइदिएको थियो। मान्छेहरु सबैजना आ–आफ्ना घरका टिन खोज्नमा व्यस्त देखिन्थे। हुरीका साथै आएको पानीले जताततै हिलैहिलो थियो।

पढ्न मन नलागेपछि म उठेर बाहिर निस्किए, त्यसैबेला मेरो कानमा आवाज आयो ‘बाबु मेरो छोरा के भयो तँलाई....’ पल्लाघरे हरी काकाको छोरो नितेश हुरीले घर भत्काऊदा काठमुनि च्यप्पिएर गम्भीर घाइते भएछ। ३/४ जना मिलेरै भएपनि नजिकको स्वास्थ्य चौकी लैजाने कुरा गर्दैथिए। कोहि कोहिले उपचारमा धेरै पैसा लाग्ने र टाढा लैजानु परे बाटो बिग्रेकाले एम्बुलेन्स नआउने हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने कुरा गर्दै गरेको पनि सुनियो।

हिजो रातिको हुरीले पल्लो गाउमा पनि धेरै क्षति गरेको कुरा कसैले भन्दै थियो। भीडभाडबाट निस्केको त्यो आवाज कसको थियो मैले चिन्न सकिन उ भन्दै गयो ‘घरका छानाहरू जम्मै उडायो, गाईभैसीका गोठहरु पनि उडायो वडाध्यक्षको छोरो पनि सोहि हुरीमा परेर गम्भीर घाइते भएको छ।’ यो सुन्नासाथ हरी काकाको घरमा भेला भएका सबै मान्छे हुल मच्चाउदै पल्ला गाउतिर लागे। बिचरा नितेश पनि त गम्भीर घाइते भएको थियो, आफ्नो गाउँमा त्यस्तो अवस्था हुँदापनि छिमेकीहरु छोडेर गएको देखेर रमिला काकी रुन थालिन तर उनको रुवाई आँगनको डिल भन्दा बाहिर पुगेन। छिमेकीहरुमा मनवता भन्ने कसैमा पनि देखिएन।

वडाध्यक्षको छोरो बिमलको हात भाच्चिएको रहेछ र कम्मरमा पनि अलि चोट लागेको रहेछ। घटनाबारे बुझ्दा साँझ मदिरा सेवन गरेर आउँदै गर्दा हुरी आएकाले बाटोमै लडेर चोट लागेको बुझियो। 
हुनत यो गाउँमा मदिरा निषेध गरिएको छ तरपनि पहुँचवाला मान्छेको आगाडि कानुन पनि झुक्छ। कसैले बोल्ने हिम्मत गरेन उपचारको कुरा चल्यो। बाटो बिग्रिएको हुनाले एम्बुलेन्स नआउने बुझिएपछि जिल्ला प्रशासनको पहलबाट गाउँपालिकाको खर्चमा हेलिकप्टर चार्टर गरेर सदरमुकाम लैजाने निधो भयो। 

मदिरा निषेधित गाउँमा त्यसरी मदिरा सेवन गरेर त्यत्रो घटना घट्दा मदिरा सेवन र बिक्रिवितरण गर्नेलाई कारबाही हुनुको सट्टा उल्टै सामान्य चोट लाग्दा पनि गाउँपालिकाले लाखौं खर्च गरेर उनको उपचार गर्ने निर्णयमा पुग्यो।

आधा घण्टामै हेलिकप्टर आइपुग्यो। विमललाई हेलिकप्टरमा राख्दै गर्दा मल्लो गाउँका मुखियाबाले नितेशलाई पनि सोहि हेलिकप्टरबाट उद्धार गरिदिन आग्रह गरे तर वडाध्यक्षले त्यो हुन नसक्ने जवाफ फर्काए। हुनत हेलिकप्टर गाउँपालिकाको खर्चमा आएको थियो तर हुने खानेहरुका आगाडि हुँदाखानेहरुको के नै चल्थ्यो र..!

बिचरा नितेशको अवस्था बिग्रिदै गइरहेको थियो। बिमलको हेलिकप्टरबाट सदरमुकाम लगेर उपचार गरियो तर नितेश भने अन्तिम अवस्थामा पुगिसकेको थियो। घरमै आएको सिंहदरबार पनि उसको हालखबर सोध्न आएन। उपचारको अभावमा अब कोहीपनि मर्दैन भन्नेहरु कता गए पत्तो छैन।

नितेशको त्यो अवस्थामा जनताले जिताएर पठाएकाहरु सांसद भवनबाट बाहिर आउन सकेनन। बिचरा नितेश नजिकै आउदै गरेको चुनावमा सम्पूर्ण नेताहरुलाई सफलताको शुभकामना दिदै यो संसारबाट सदाको लागि बिदा भयो।
 

कमेन्ट लोड गर्नुस