सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका सबै दलको एकमतः बागबजार–कीर्तिपुर सडक स्तरोन्नति गरौं

२०७७ असोज २९, ०३:५८ खबर संवाददाता

धनगढी : डडेल्धुराः डडेल्धुराका सबै राजनीतिक दलले बागबजार–कीर्तिपुर सडक खण्ड फराकिलो गरिनुपर्ने धारणा अगाडि सारेको छ। जिल्ला सदरमुकाममा पर्ने मुख्य महाकाली राजमार्ग अन्तरगतको बागबजार–कीर्तिपुर सडक स्तरोन्नतिका लागि सबै पार्टीले सम्बन्धित निकायसँग माग गरेको हो। 

बुधबार नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह मालले पत्रकार सम्मेलनमार्फत सडक स्तरोन्नतिका लागि पहल गरिने भन्दै पार्टीको निर्णय सार्वजनिक गरेका थिए।  सम्मेलनमा २ पटक बोलपत्र आह्वान गरेर पनि खारेज गरेकोमा नेकपा जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका थिए। यस्तै उनले अमरगढी नगरपालिकाको पहलमा मन्त्रीसहितको टोलीले संघर्ष समिती र सवदलिय छलफल गरेको जानकारी गराएका थिए। साथै अध्यक्ष मालले मुअब्जाबारे पहल गरिने जनाएका थिए। 

यस्तै बुधबार अमरगढी नगरपालिकामा बसेको सर्वदलिय बैठकले नगरपालिकाले तत्काल मुहाब्जाका लागि विवरण संकलन गरी कार्य अगाडी बढाउन आग्रह गरेको छ। नेपाली कांग्रेसको पहल तथा अमरगढी नगरपालिकाको आयोजनामा बसेको बैठकमा मुआब्जाका लागि सम्पूर्ण दलले पहल गर्ने समझदारी भएको छ। 

बिहिबार कांग्रेस डडेल्धुराले विज्ञप्ति जारी गर्दै सडक क्षेत्रको दायाँ वायाँ  १५/१५ मिटर स्तरोन्नति गरी बजार क्षेत्रमा आवागमन सहज पार्न सहयोग गर्ने निर्णय भएको जनाएको छ। पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘उक्त बैठकले पेचिलो बनिरहेको मुआब्जाको विषयलाई सम्बोधन त गरेको छ नै लामो समयदेखिका विभिन्न छलफल र विभिन्न प्रयासहरुको उच्च मुल्याङ्कन गर्दै सडक क्षेत्र १५/१५ मिटर दायाँ वायाँ स्तरोन्नति गरी बजार क्षेत्रको सौन्दर्यता र आवतजावत सहजता सहयोग पुग्ने गरी महत्वपूर्ण ठोस निर्णय समेत गरेको छ।’

साथै कांग्रेस डडेल्धुराले उक्त निर्णय यथासिघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस