सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपडेट र एक्सपेरियन्स बिच दूरी घटाउ

२०७७ असोज २९, १२:४२

-रोहित चन्द, धनगढी

यो लेखमा मैले अपडेट भन्नाले नयाँ पुस्तालाई संकेत गर्न खोजेको छु। जुन पुस्ता पछिल्ला घटनाक्रमको साँचि मात्रै छैन, बरु ती घटनामा प्रत्यक्ष संग्लन पनि छ। चाहे विश्वमा भइरहेका नयाँ आविष्कार हुन, चाहे राजनीतिक घटनाक्रम हुन या अन्य सामाजिक क्रियाकलाप नै किन नहुन। ती सबैमा पछिल्लो पुस्ता क्रियाशीलता पूर्वक लागेको छ। सबैले स्वीकार गरे जस्तै युवा पुस्तासँग ऊर्जा, जोश, केही नयाँ, केही फरक गर्ने हुटहुटी छ। धेरै ठाउँहरूमा उत्तिकै कृयटिभिटि र इनोभेशन पनि एड गरिरहेकै छ।

एक्सपेरियन्स भन्नाले अघिल्लो पुस्ता, उमेर छिप्पिएका पुस्तालाई संकेत गर्न खोजेको छु। जुन पुस्ताले जीवनमा अनेक अनुभव बटुल्दै, तितारमीठा घटना भोगेको छ। जीवन र जगतका अनेक घटनाहरूसँग साक्षात्कार गरेको छ। ती अनेक उताररचढावले गर्दा यो पुस्ता खारिएको छ। एउटा कँक्रिट निष्कर्ष यो पुस्तासँग छ भन्ने मलाई लाग्छ। ज्ञानकै आधारमा हेर्ने हो भने जीवनका अनेक रहस्यहरु यो पुस्तालाई थाहा छ। पुस्ता भन्नाले सिङ्गो मानव जातिका हरेक प्रौढहरुलाई त्यो ज्ञान र निष्कर्ष छ भन्ने होइन तर आ–आफ्नो क्षेत्र अनुसारको अनुभव त पक्कै छ।

विश्वभरीका विभिन्न देशहरुले, देश भित्रका इन्स्टिच्युटहरुलाई वा दुवै पुस्ताले दुवै पुस्तासँग कसरी समन्वयन गर्दै छन् र त्यसको परिणाम के छ भन्ने कुरा अध्ययनको विषय हुन् सक्छ। यी दुवै पुस्तासँग केही न केही खुबी छ। जसलाई संग–सँगै प्रयोग गरेर भइरहेको भन्दा धेरै बढी उपलब्धि हासिल गर्न सकिनेमा सायद दुई मत नहोला। जस्तै उदाहरणको लागि एउटा घर बनाउन तस्मिएको युवाले इन्जिनियरहरुले कस्तो घर बनाउन सल्लाह दिइरहेका छन्।

कसरी घर बनाउँदा भूकम्प प्रतिरोधी हुन्छ बन्न सक्छ, कसरी बढी आकर्षक घर बनाउने भन्ने जानकारी लिन सक्ने खुबी हुन्छ। घर आफ्नै पाखुराको बलमा बनाउन सक्छु भन्ने आत्मविश्वास र ऊर्जा हुन्छ। त्यही निर जीवनमा दुई चार घर निर्माण गरिसकेको व्यक्तिसँग कति घण्टा काम गर्ने, थकाइ कसरी मेट्ने, बिग्रिने सम्भावना कहा कहा छ, औजारहरू कसरी प्रयोग गर्ने, कति जना सम्म कामदार लगाउँदा ठीक हुन्छ आदि कुराको राम्रो जानकारी हुन्छ। अनुमान गरौं दुई भिन्न भिन्न पुस्ताका आ–आफ्ना खुबीहरु एकै ठाउँमा प्रयोग गर्दा घर निर्माणमा कति सहज हुन्छ ? कति सुन्दर घर निर्माण हुन्छ होला।

यो त एउटा घर निर्माणको उदाहरण भयो। देश निर्माणको प्रक्रिया पनि यही हो। युवाहरुसँग भएको विश्वको पछिको अपडेट र अग्रज पुस्तासँग भएको जीवनको अनुभव हामी एकै ठाउँमा प्रयोग गर्न सकिरहेका छैनौं। फेरि यी दुवै पुस्ताका आ–आफ्ना समस्या र सीमाहरू पनि छन्। ती समस्या र सिमाहरुलाई नकार्न सकिंदैन। बरु निराकरण गर्नुपर्छ।

वर्तमान नेपालको सन्दर्भमा हेर्ने हो भने दुई पुस्ता बीच एक किसिमको द्वन्द छ। युवाहरुले अग्रजलाई गवार, केही नजान्ने जस्ता शब्दावली प्रयोग गरिरहेका देखिन्छन्। त्यही निर अग्रज पुस्ताले युवाहरुलाई विश्वास गर्न नसकेको पनि अर्को तीतो यथार्थ हो।

राजनीतिक रुपमा दुई पुस्ता अलि भिन्न भएर उभिएको छ। हाम्रो सिस्टममा भएको समस्या भन्ने वा हामीले नै सर्वस्वीकार्य बनाएको नजिर भन्ने, अनौठो किसिमको छ। बीसौं वर्ष सम्म एकै जना व्यक्ति सत्तामा रहन सक्ने प्रणाली छ। 
यति भइरहँदा पनि सत्तामा रहनेलाई उत्तराधिकारीको चिन्ता छैन। योग्य, कर्मठ र उपयुक्त व्यक्तिलाई आफ्नो उत्तराधिकार बनाऊ, उसलाई प्रशिक्षित गरौं भन्ने कहिल्यै सोच्दैन। यही निर अर्को अचम्म छ, ती व्यक्तिहरूले युवाहरु माथि यत्रो अन्याय गर्दा पनि हामी चुप छौं।

जो शक्तिमा छ, उही सर्वमान्य हो। उनिहरूको वरिपरि रहेका युवाहरुको व्यवहार देखेर लाग्छ, मानौं की बर्षौ देखि सत्तामा हुँदा समेत उसको विकल्प छैन। वरिपरि घुम्ने युवाहरु मानौं की आफूलाई विकल्प नै मान्दैनन्। अग्रज पुस्ताले कहिलेकाहीं प्रश्न गरेको सुनिन्छ, हामीसँग युवा नै भएन वा भएका युवाहरु कामका भएनन्, गतिला भएनन् भन्ने प्रसस्तै गुनासो सुन्ने गरिन्छ। कहिलेकाहीं सुनिन्छ, युवा हुँदैमा चाहेको उपलब्धि हासिल गर्न सकिन्छ? यी जिज्ञासाहरु केही हद सम्म जायज छन्। तर एक पटक सोचौं त, प्रश्न गर्नेहरूले योग्य युवा उत्पादन गर्न कति पहल गरे? आफ्नो अनुभवद्वारा हामीलाई कति प्रशिक्षित गरे? यी प्रश्न गर्दा त उत्तर फेरि चित्त बुझ्दो आउँदैन।

यस्तो अवस्थामा हामीसँग दुईवटा विकल्प छन्। एउटा त युवाहरुले आफै हस्तक्षेप गरेर अगाडि बढ्ने। यदि यसो गर्यौ भने प्रवल सम्भावना छ फेरि युवा पुस्ता एक्लो रहन सक्छौं। अर्को विकल्प छ, सहज रुपमा नेतृत्व पुस्तान्तरण गर्ने। युवाहरुको नेतृत्वमा पहिलो पुस्ताले आफ्नो अनुभव प्रयोग गर्ने। यदि सहज रूपमा नेतृत्व पुस्तान्तरण भयो भने परिणाम पनि राम्रो निस्किन्छ। युवाहरुले नेतृत्वका लागि गर्नुपर्ने संघर्षको समय र आफ्नो नेतृत्व स्थापित हुदासम्मको समय अर्को काममा उपयोग गर्न सकिन्छ। यसले प्रकारान्तरमा गएर देशलाई नै फाइदा पुग्छ। यदि दोश्रो विकल्प लागु हुन नसक्ने अवस्था आयो भने युवाहरुले पहिलो विकल्प समात्नुको विकल्प चाहिँ देखिँदैन। त्यसका लागि युवाहरुले हरेक हिसाबले तयारी गर्नुपर्ने देखिन्छ। 

त्यसका लागि पहिलो त हामी मानसिक रुपमा हस्तक्षेपका लागि पूरै तयार हुनुका साथै संगठित हुनुपर्छ। दोश्रो संघर्ष र द्वन्द्वको तरिका के हुने भन्ने ठोस योजना हुनुपर्छ। तेश्रो नेतृत्वमा गएर हामी के के काम कसरी गर्छौं भन्ने प्रष्ट खाका हुनुपर्छ। चौथो त्यो खाका अहिले देखि नै प्रयोगात्मक र विश्वसनीय छ कि छैन भन्ने प्रसस्तै बहस हुनुपर्छ। पाँचौं र अन्तिम हाम्रा यी सबै तरिकाहरू वैज्ञानिक, सृजनशील र विधिसम्मत हुनैपर्छ।

माथिका दुई विकल्प मध्ये दोश्रो विकल्प बढी प्रभावकारी हुन्छ। त्यसका लागि विगतका नजिर पल्टाएर हेर्न सकिन्छ। कुनै काल खण्डमा सफल भनिएका राज्यहरू र शासकहरू, त्यहाँका जनताको खुशीको स्तर हेर्यौं भने जहां जहां दुई पुस्ताको सम्बन्ध सुमधुर छ, जहां जहां युवाको नेतृत्वमा पहिलो पुस्ताले अनुभव प्रयोग गर्छ, त्यहाँ साँच्चै देश समृद्ध छ। जनता साँच्चै सुखी र खुशी छन्।

हामीले एक पटक पौराणिक कालमा हेर्ने हो भने राम र रावण हेर्न सक्छौ। पाण्डव र कौरव हेर्न सक्छौं। श्रीकृष्ण र कंश हेर्न सक्छौं। राम र श्रीकृष्ण युवावस्थामै शासकरराजा भइसकेका थिए। पाण्डवहरू पनि धेरै बढी उमेरका थिएनन्। यिनीहरूका राज्यहरूमा ऋषिमुनि, सन्त, योगी, तपस्वीहरुको ठूलो इज्जत र सम्मान हुन्थ्यो। योग र तपबाट प्राप्त ज्ञानको आधारमा राज्यहरू संचालित हुन्थे। 

राजाको सल्लाहकारको रूपमा महान ऋषिहरू र पुरोहित कुलगुरुका रुपमा पनि हुन्थे। तिनीहरूको सल्लाहमा गरिएका निर्णयहरुले ठूला ठूला विपत्तिबाट राजा र देशलाई जोगाएका उदाहरण छन्। जनताहरू पनि आर्थिक रूपले सम्पन्न र खुशी थिए भन्ने वर्णन हामीले सुनेका छौं। तिनै कालखण्डका छिमेकी देशहरूका शासकहरू रावण, कंश र कौरवहरूतिर नजर डूलायौ भने ती शासकहरु उमेरले जे भए पनि कसैको सल्लाह नसुन्ने, आत्मरतिमा रमाउने, पाखण्ड थिए। नागरिक सम्मान भन्ने कुरा उनीहरूको लागि हाँसोको विषय हुन्थ्यो। ऋषि, मुनि, तपस्वी आदिलाई दुःख दिइन्थ्यो। जनता पनि खुशी हुँदैनथे। नागरिकमा सधैं एक किसिमको त्रास भइरहन्थ्यो। 

पौराणिक कालमा भन्दा पछि आएर हेर्यौं भने भारत वर्षकै एक राज्यमा दुई पुस्ताको तालमेलको गज्जबको उदाहरण हामी पाउँछौ। त्यो भनेको चाणक्य र चन्द्रगुप्त मौर्यको हो। चाणक्य उमेरले प्रौढ, विद्वान, अर्थशास्त्री, रणनीतिक व्यक्तित्व थिए। यिनले चाहेको भए सायद राजा वा प्रधानमन्त्री बन्न सक्ने हैसियत थियो। तर यिनले जोशिला, वीर र कुशल शासकको खोजी गरे। चाणक्यले असल गुरु, मार्गदर्शक र प्रेरणाको काम गरे। चन्द्रगुप्तले पनि प्रौढ र अनुभवी चाणक्यको सधैं सम्मान गरे। चन्द्रगुप्तले चाणक्यका अर्ती-उपदेशहरू कार्यान्वयन गरे। चाणक्यले जीवनभर खोज गरेर निकालेका निष्कर्षको चन्द्रगुप्तले राज्यमा लागू गरे। चन्द्र गुप्तको शासनकालमा देश समृद्ध र जनता खुशी थिए।

समकालीन विश्व राजनीतिमा पनि दुई पुस्ता बीचको मिलनका समाचारहरु कहिलेकाहीं सुनिन्छन्। ४० वर्षीय युवाको नेतृत्वमा ठण् वर्षका वयोवृद्ध व्यक्ति मन्त्री बनेका हामी सुनिरहेका हुन्छौं। अब एक पटक हामीले नेपाल पनि यसरी नै सञ्चालन गर्नुपर्छ। 

यी सबै कुरा हुनका लागि एक अर्का बीचमा विश्वासको वातावरण हुनु अति आवश्यक छ। कुनै तेस्रो व्यक्तिले दुई व्यक्ति बीचको सम्बन्ध निर्धारण हुनुहुँदैन। दुवै पुस्ताले एक अर्कालाई सम्मानको भाव राख्नुपर्छ। अग्रजहरुले नयाँ अनुहारको कुरा सुन्ने बन्न सक्नुपर्छ। उनीहरूको भावनाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। नयाँ पुस्ताले पनि अग्रज पुस्ता देखेर तर्सिनु हुँदैन। आफ्ना विचारहरू र भावनाहरू प्रस्ट रूपमा प्रकट गर्न सक्ने ल्याकत राख्नुपर्छ। समग्रमा भन्ने हो भने यो जेनेरेशन ग्याप कम गर्दै लाग्नुपर्छ। 

अन्त्यमा, राम जस्तै पदको लोभ नभएको, कृष्ण जस्तै चलाख र चन्द्रगुप्त जस्तै वीर शाहसी अहिलेका युवाहरुले बन्न सक्नुपर्छ। नत्र हामी सधैं सबैलाई गाली मात्रै गर्ने, निकास केही पनि ननिस्कने हुन्छ। अब कसैले कसैलाई गाली गर्नु नपर्ने स्थिति सृजना गर्ने तर्फ लागौं।

(लेखक चन्द साझा युवा संगठन, सुदूरपश्चिम प्रदेशका संयोजक हुन।)
 

कमेन्ट लोड गर्नुस