सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कर्मचारीको मिलेमतोमा अनुदानको मल खुलेआम प्राइभेट एग्रोभेटबाट बिक्रि

२०७७ असोज २८, ०३:१३ कमल सावद

धनगढी: कैलालीका किसान अहिले धान भित्र्याउदै छन्। उनीहरु मध्ये केहीले गहुँ छर्न खेत जोत्न समेत सुरु गरेका छन्। हिउँदे बाली तथा तरकारी लगाउने तयारीमा रहेका किसान रसायनिक मलको अभावले भने समस्यामा छन्।

मागको ७० प्रतिशत मल आपुर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी मलको मौज्दात सकिएको दावी गर्दै आएको छ। तर सोमबार मात्र जुगेडा बहुउद्देश्यीय  सहकारी संस्थाका ब्यवस्थापक भिमबहादुर थापालाई मल नभएको भन्दै कृषि सामाग्री कम्पनीले फर्काएको थियो।

उनले मलको मौज्दात सकिएको भन्दै फर्काएको हो। थापाले कृषि सामाग्री कम्पनीबाटै नपाएपछि वडा नम्बर १२ जुगेडाका किसान समस्यामा परेका छन्।

‘मलको मौज्दात सकिएको जानकारी पाए। अब दशैँ अगाडी मल आउँदैनन्, भनिरहेका छन्।’ उनले भने, ‘किसान भने दैनिक सहकारीमा आएर सताउन थालेका छन्। अब कहाँबाट ल्याएर वितरण गर्ने होला।’

अनुदानको मलको भरमा किसान हुने भएपनि सरकारले आपुर्ति गर्न नसक्दा समस्या भएको उनी बताउँछन्। कृषि सामाग्री कम्पनीले मौज्दात सकिएको दावी गरेका बेला सरकारी अनुदानको मल बाहिर प्राइभेट एग्राभेटहरुमा भने धमाधम बिक्रि भईरहेको छ।

कृषि सहकारी संस्था मार्फत वितरण हुनुपर्ने सरकारी अनुदानको मल कैलालीका कृषि एग्रोभेटबाट मिलेमतोमा बिक्रि भईरहेको पाईएको छ। गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा रहेको भैरव एग्रोभेटले पनि सरकारी अनुदानको मल बिक्रि वितरण गरिरहेको पाईएको छ।

भैरव एग्रोभेटमा छोपेर राखेको अवस्थामा कृषि सामाग्रीको लोगो सहितको रसायनिक मल फेला परेको छ। एग्रोभेटले डिएपी, युरिया र पोटास बिक्रि गर्दै आएको उक्त क्षेत्रका किसानले बताएका छन्। एग्रोभेटका सञ्चालक शंकर खड्काले भने सहकारीबाट अनुदानको मल ल्याएको बताए। तर उनले मल ल्याएको बताउने उक्त संस्था कृषि नभएर विद्युत सहकारी हो।

खड्काले जय माँ दुर्गा विद्युत सहकारीले अनुदानको रसायनिक मल बिक्रिका लागि ल्याएको दावी गरे। उनले युरिया चार सय १० कठ्ठा लिएको बताए। उनले डिएपी नपाएको दावी गरेपनि एग्रोभेटमा राखिएको प्रष्टै देखिन्थ्यो। जुन मल बिक्रिका लागि राखिएको उनले स्वीकार गरेका छन्।

‘वडा नम्बर ६ का किसान बाहेक कसैलाई बिक्रि गरेको छैन्। उनले भने, दुई सय ५० जना किसानलाई बिक्रि गरेको सूची म सँग छ।’ तर खड्काले आफू मात्र नभएर कैलालीमा कृषि सहकारीहरुले नै अन्य एग्रोभेटबाट समेत अनुदानको मल बिक्रि गर्दै आएको उनी बताउँछन्।  तर कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीकै मिलेमतोमा एग्रोभेटबाट अनुदानको मल बिक्रि गरिदै आएको आरोप लागेको छ।

सहकारीहरुसँगकै सेटिङमा कर्मचारीले कृषि एग्रोभेटबाट मल बिक्रि गर्ने गरेको आरोप लागेको हो। तर कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका निमित्त प्रमुख भने नवलसिंह बोगटी उक्त आरोप स्वीकार गर्न तयार छैनन्। बोगटीले भने सहकारी संस्थाहरुले बदमासी गरेको हुनसक्ने दावी गरे।

‘साँफेमा १५ क्वीन्टल दिएका छौँ। अन्यलाई अहिले दिएका छैनौँ। पहाडका लागि मात्र दिएका हौँ। तराईमा दिएका छैँनौ। एग्रोभेटमा बिक्रि भएको बारेमा भने जानकारी छैन्।’ बोगटीले भने।

कृषि सामाग्री कम्पनी लिमिटेड डिएपी मल प्रति क्वीन्टल चार हजार पाँच सय ५२ रुपैँया, युरिया प्रति क्वीन्टल एक हजार ६ सय ५२ रुपैँया र पोटास प्रती क्वीन्टल तीन हजार तीन सय ५२ रुपैँयामा सहकारीलाई बिक्रि गर्छ।

कम्पनीले डिएपीमा प्रती किलो २६ रुपैँया, युरिया र पोटासमा २५/२५ रुपैँया अनुदान दिने गरेको छ। सहकारीले किसानहरुलाई डिएपी प्रतिकिलो ४८ रुपैँया, युरिया १८ रुपैँया र पोटास ३५ रुपैँयामा बिक्रि गर्ने गरेको कृषि सामाग्री केन्द्रले जनाएको छ।

तर कृषि सामाग्री कम्पनीले भने मलको कृत्रिम अभाव सिर्जना गर्दै सहकारी र एग्रोभेटसँगको मिलेमतोमा सकारी अनुदानको मल एग्रोभेटबाट बढि मूल्य लिएर बिक्रि गर्ने गरेको आरोप लागेको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस