सुदूरपश्चिमका ८४६८ जनामा कोरोना संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलबार ८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार चार सय नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार चार सय ६८ पुगेको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार दुई सय ५ पुगेको छ।
सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ।
सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार तीन सय ३९ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ।
यस्तै डोटीका एक हजार एक सय ४१, अछामका एक हजार एक सय तीन, कञ्चनपुरका नौ सय ३१, बझाङका पाँच सय ७३, बाजुराका चार सय ५९, बैतडीका चार सय ५४,डडेल्धुराका तीन सय ६५ र दार्चुलाका एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।

