सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकै चौकीका इन्चार्ज सहित १० प्रहरीमाथि कारबाहीको तयारी

फाईल फोटो
फाईल फोटो
२०७७ असोज २६, १२:५९ खबर संवाददाता

धनगढीः धनगढीको सीमा प्रहरी चौकी बहुलियाका सई सहितका १० प्रहरीमाथि कारबाही गरिने भएको छ।

पेशागत आचरण अनुसार काम नगरेको आरोपमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीमाथि कारवाही हुने भएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले काम कारवाही सन्तोशजनक नदेखिएपछि चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको जानकारी दिए।

जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्ज सम्मका प्रहरी कर्मचारी रहेको निमित्त प्रहरी नायब उपरिक्षक विष्टले बताए। तर चौकीमा थुनुवामाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई जिल्ला तानिएको स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जिल्ला झिकाईएका प्रहरीमाथि छानविन भईरहेकाले दोषी देखिए कारवाही गरिने बताए।

यसअघि पनि सोही प्रहरी चौकीमा गत साउन २८ मा हिरासतमा लिईएको फूलबारीका अमरबहादुर चन्दको मृत्यु प्रकरणमा छानविनका लागि तत्कालीन इन्चार्ज जंगबहादुर सिह सहितका तीन जना प्रहरीलाई  जिल्ला तानिएको थियो।

गत २७ साउनमा मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरी चौकी बहुलियाले नियन्त्रणमा लिएका चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए।

तत्कालीन सयममा प्रहरीले चन्दले आत्महत्या गरेको दावी गरेपनि आफन्तले भने हत्याको आरोप लगाएका थिए।

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमतीपछि मृतकका आफन्तले शव बुझेका थिए। प्रहरीले छानविनका लागि एसपीको नेतृत्वमा टोली गठन गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस