सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रशासनले वडा अनुसार सेवा हेरफेर गर्‍यो, हेर्नुस् यस्तो छ सूची

२०७७ असोज २२, ०४:३८ खबर संवाददाता

धनगढीः कैलाली प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने प्रणालीमा हेरफेर गरेकाे छ। जिल्ला प्रशासन कार्यालयले कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा दिने प्रणालीलाई थप व्यवस्थित बनाएको जनाएको छ।

कार्यालयले नागरिकता, नावालक परिचयपत्र र संघसंस्था सम्बन्धिका सेवा स्थानीय तह र वडाका सेवाग्राहीलाई छुट्टाछुट्टै बार प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आईतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ देखि १९ सम्मका सेवाग्राही, गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मका सेवाग्राही, सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ देखि १० सम्म, गोदावरी नगरपालिकाको वडा नम्बर ४ र ५ का सेवाग्राहीलाई सेवा दिईनेछ।

यस्तै मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ देखि ९ सम्म, कैलारी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राही, बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ देखि १४ का सेवाग्राही र कैलारी गाउँपालिका वडा नम्बर ८ र ९ का सेवाग्राहीलाई सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।

बीहिबार गोदावरी नगरपालिका १० र १२ का सेवाग्राही, कैलारी गाउँपालिका वडा नम्बर ५ देखि ७ सम्मका सेवाग्राही, शुक्रबार वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राहीलाई सेवा प्रदान गरिने जारी सूचनामा उल्लेख छ। चुरे गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका सेवाग्राहीलाई भने शुक्रबार बाहेक हप्तामा पाँच दिन सेवा प्रदान गरिनेछ। आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार २५ गतेदेखि सेवा प्रदान गरिने प्रशासनले जनाएको छ।

यस बाहेकका अन्य राहादानी, हातहतियार दर्ता, नविकरण, पत्रपत्रिका, प्रमाणित तथा सिफारिस सम्बन्धीका सेवा नियमित कार्यालय समयमा उपलब्ध गराईनेछ। स्थानीय प्रशासनले तोकिएको बार मात्र सम्बन्धीत सेवाग्राहीले कार्यालयमा प्रवेश गर्न पाउने जनाएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध समेत गरिएको छ।

कमेन्ट लोड गर्नुस