सुदूरपश्चिममा ९ महिनामा १ हजार ४६० फरार कैदीबन्दी पक्राउ
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले बितेको नौ महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका एक हजार ४६० जना कैदीबन्दीलाई पक्राउ गरेको छ। अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई खोजी गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म यी कैदीबन्दीलाई पक्राउ गरी कारागार चलान गरिएको हो। प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीबाट ७३२ जना र कञ्चनपुरबाट ४१० जना फरार कैदीबन्दी पक्राउ परेका छन्।
यसैगरी डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट ९, बझाङबाट ५८ र बाजुराबाट २२ जना फरार कैदीबन्दी पक्राउ गरिएको छ।
प्रवक्ता विष्टले लामो समयदेखि कैद सजाय भोग्न बाँकी रहेका फरार प्रतिवादी पक्राउ गर्न प्रदेशका सबै नौ जिल्लामा प्रहरी टोली परिचालन गरिएको बताए। उनले जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको पनि जानकारी दिए।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला सुदूरपश्चिमका कारागारबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म एक हजार १२० जना पक्राउ परिसकेका छन् भने ३३८ जना अझै फरार छन्। फरारमध्ये अधिकांश भारततर्फ लुकेर बसेको आशंका प्रहरीको छ।
यसैबीच कञ्चनपुरमा फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पछिल्लो एक सातामा मात्रै ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अधिकांश लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ।