सुदूर नेपाललाई विश्वसँग जोड्दै

कठपत्रेले अँध्यारो भएको जोरायल

२०७७ असोज २१, ०६:४७

हेमराज ओझा– २०७१ असोज २० गते घडिमा करिव साढे तीन बजेको थियो । अत्तरिया जाने पूर्व तययारीका लागि म सेभिङ गर्दै थिएँ । हतार हतारमा अङ्कल–अङ्कल भन्ने आवाज सुनियो । ग्यालरीबाट बाहिर निस्केँ मेरै छिमेकी मित्र चक्रराज भट्ट र भाइ दीपक ओझाको मुखबाट एकै स्वरमा “जोरायलबाट आएको बस पल्ट्यो । त्यसमा कुन्ती पनि थिई ।” आङ सिरिङ्ग भयो, मष्तिस्कले काम गर्नै छोड्यो, खुट्टा सार्न खोज्दा खुट्टा चल्नै छाड्यो ।

मानवताको बलले हुन सक्छ, सिथिल भएका शरीरका अङ्गहरू विस्तारै चल्न थालेपछि मोबाइल समातेँ । अङ्कल आज आउँदै छु भनेर निर्मल भट्टले बिहान फोन गरेको याद आयो र निर्मल बावुलाई फोन डायल गरेँ तर फोन रिसिभ भएन । कपडा लगाएर साइकल समाती बाहिर गएर पुनः फोन डायल गरें र फोन रिसिभ भयो अति आत्तियको, अद्र्धचेत अवस्थाको आवाजमा “अङ्कल गाडी पल्ट्यो के कति क्षति भयो थाहा छैन, सक्दो छिटो जिप ल्याएर आउनुुहोस्” फोन बन्द भयो ।

निर्मल बाबुले बिहानै गरेको फोनबाटै प्राप्त जानकारी अनुसार भक्तराज दाइ, टेकराज दाइ, म भाउजु र फुपूकी छोरी बहिनी आउँदैछौ भन्ने खवर पाएको थिएँ ।  भित्रबाट भतिज वि.नि.लाई फोन लगाए फोन नै लागेन, भक्तराज लाई फोन लगाए फोन नै लागेन । भाइ दीपक, दाजु खगराज भित्रबाट भतिज चक्रराज भट्ट चारै जना १० मिनेट मै अत्तरिया पुग्यौं, जिप खोज्यौ पाएनौं । बसपार्कतिर लाग्यौं त्यहाँ मानिसको निकै भीड थियो । भीड नजिकै गयांै, त्यहाँ जोरायलका मिनराज जोशीलाई भेट्यांै । उनी बसको कुराकानी गर्दै थिए बुडरसम्म त गइदिऊँ भनेर त्यहाँ उपस्थित भएका सबैको पहलमा बस दुर्घटना स्थलतिर दौडियो । गाडी रफ्तारमा दौडिरहेको थियो । मन सटपटमा घरी केही आउँथ्यो घरि केही ।

गोदावरीको उकालोको आधा भाग चढी सक्दा पुनः निर्मल बाबुलाई फोन डायल गरेँ फोन रिसिभ भयो अगाडिको भन्दा फरक शैलीमा रुदै गरेको आवाज, “अंकल मैले घरमा सबैलाई फोन गरेको” फोन बन्द भयो । गाडी गुडिरहेको थियो मन उडिरहेको थियो अद्र्धचेत अवस्थामा थर्थरी हात काप्दै, मुटुमा भक्कानो फुट्दै आदरणीय दाजु चित्रराज भट्टलाई फोन लगाएँ “म हिडिसकेँ” फोन बन्द भयो । लगतै पूर्व सहपाठी शिक्षक साथी हरेन्द्र साउँदको फोन आयो “सर कहाँ हुनु हुन्छ, जोरायलबाट आएको गाडी पल्ट्यो म घटना स्थल नजिक पुग्दैछु ।” केही समयमै भान्जा आर.पी. शिद्धराज जोशीको फोन आयो मामा कहाँ पुग्नु भयो हामी गोदावरीको उकालो चड्यौं । लगत्तै हरेन्द्र सरलाई फोन लगाएँ , “घटना स्थल पुगिसके घटनाको यथार्थ विवरण दिन निकै कठिन छ धेरै व्यक्तिहरू दिवंगत भई सकेका छन्, पचासौं घाइते होलान् । सरकारी निकाएका उद्धार टोली अँझै घटना स्थल पुगका छैनन् ।”

निर्मल बाबुको पहिलो फोनबाटै केही आसलाग्दो समाचारले पुगेको मानवताको बल कहाँ हरायो कहाँ । शरीरका सबै अङ्गहरू सिथिल बन्न थाले, बस गुडिरहेको थियो, आफूलाई कति चाडो घटना स्थल पुग्न पाइएला भन्ने थियो । उडुँ पखेटा थिएन् दौडुँ सम्भव थिएन । बेलुका साढे चार बजे अत्तरिया बाट गुडेको बस साँझ ६ बजे बुडर पुग्यो ।  मानिस मात्र हैन प्रकृति पनि रोइ राखेकी थिई । बसबाट ओर्लिएर बुडरमा रहेको स्वास्थ्य चौकी तिरलाग्यांै, त्यहाँ निकै भिड थियो उद्धारकर्मीको घाइतेका आफन्तको । सुरक्षाकर्मीले भित्र जान दिइरहेका थिएनन् भिडलाई छिचोल्दै र सुरक्षाकर्मीको अवज्ञा गर्दै उक्त परिसर भित्र पसे चार जना घाइते प्राथमिक उपचारमा थिए हेरे कसैलाई पनि चिनेन् । लगतै घाइते ल्याएर अर्काे जिप पुग्यो, गाडी तिर दौडें त्यसमा भित्र भतिज भक्तराज भट्ट, बुहारी दुर्गा भट्ट, नातिनी र भान्जी देखें, आँखा अन्धकार भए तिनीहरूको अवस्था देखेर । भान्जा आर.पी. सिद्धराज जोशी र नाति खेमराजले ल्याएको गाडीमा ती घाइतेहरूलाई भित्रबाट नाति खेमराज भट्टको जिम्मा लगाई धनगढीतिर पठाई हामी घटनास्थलतिर लाग्यांै । मनमा उठेका अनेकौं तरङ्ग छिचोल्दै करिव साढे सात बजे साँझ त्यस निस्ठुरी ठाउँमा पुग्यौं, जहाँ भयावह डर लाग्दो, कहाली लाग्दो, दर्दनाक अवस्था थियो । जसको वर्णन गर्न सम्भव नै छैन । वर्णन गर्ने हो भने काव्यकारका ...........महाकाव्य हुने छन् ।

विधिको विडम्बना भनु या दैवको लिला थियो । न कहिले यस्तो दर्दनाक स्थिति जीवनमा मैले कैले देखेको थिएँ न कहिले सोचेको । कहिले काहीं रेडियोमा सुन्थेँ त्रिसुली नदीमा बस खस्यो, सेती नदीमा बस खस्यो, भेरी नदीमा बस खस्यो, भिरमा पल्ट्यो र पचासौं को ज्यान गयो सुन्थे मात्रै तर यी आँखाले प्रत्यक्ष देखेको थिएन । यो दृष्य ऐले सम्म पनि मेरा आँखामा र त्यो कोलाहल, चिच्याहट, रुवावासी कानमा जीवितै छ । यस घटनामा १ वर्षे बालकदेखि लिएर ६५ वर्षिय वृद्धा–वृद्धि परे । मलाई अंकल भनेर अति आदर गर्ने शुभ चिन्तक भित्र जोरायलका उदायनमान तारा विनि टेकराज भट्ट र उनकी धर्मपत्नी पशुपति भट्ट सँग २०७१ आश्विन १३ गते धनगढी तारानगरमा उनैले पकाएको खाना सँगै खाएको क्षण अन्तिम भेट भयो । जो मेरा लागि जीवनमा बिर्सनै नसकिने क्षण बन्यो ।  मेरी आत्मीय भाउजू भागरथी, जस्ले मेरो घर बसन्तपुर कैलाली मा २०७१ श्रावणमा खाना पकाइ सबै परिवारलाई ख्वाएको दिन बिर्सनै नसकिने क्षण बन्यो ।

 मलाई जन्म दिने आमाभन्दा पनि असाध्यै माया गर्ने काकी हिरादेवी ओझा जसले घरमा जाने बित्तिकै केहि न केही खानेकुरा दिनु हुन्थ्यो अति माया गर्नु हुन्थ्यो सानो बालकलाई जस्तै म कसरी बिर्सु त्यो घटना । मेरा आफन्तजन र इस्टमित्र, साथी भाइ, राष्ट्र सेवक कर्मचारी, पत्रकार समाजसेवी कसरी आँट गरिस कठपत्रे डाँका, ती सबै लाई एक साथ लान । नजिकै त मालिका थिइन् । मालिका हजुरलाई अलिकति पनि दया लागेन किन रक्षा गर्नु भएन ती उन्तीसको । यो दुःखद घटनाले पुरै जोरायल मात्र नभइ सिङ्गो डोटी जिल्ला र समग्रमा मेची महाकाली मर्माहत भएको छ । उक्त घटनामा ज्यान गुमाएका कुल कुटुम्ब, आफन्तजन, इस्टमित्र, अङ्गभङ्ग भएका घाइतेहरूको बारेमा लेख्दा मसिले पाना भरिनु पर्ने तर आँसुले पाना भरिदै छन् । कलम नै चल्दैन, त्यही दृष्य आँखामा घुमिरहन्छ, त्यही चिच्याहट कानमा गुन्जिरहन्छ ।

परिस्थितिले जहाँ पुर्याए पनि हामी विवस थियौं । त्यसै पापी कठपत्रेमा रातभरी मृतका आफन्तजन र अन्य इस्टमित्र, भाइ बन्धु, कुलकुटुम्ब तथा सम्पुर्ण नातेदारका आँसु सकिए । प्रकृतिले पनि आँसु थाम्न नसकी पल–पलमा आँसु खसाली रही । के गर्ने विधिको विधान, ईश्वरको लिला जति दुःख परे पनि भोग्नै पर्ने, खेप्नै पर्ने ।  यस्तो दुःखद कुरा न कसैले लेखेको न कसैले देखेको । उनै उनन्तीस ओटा सडकमा सुतेका लाशहरू यो मेरो मानसपटलमा घुमिरहन्छन् । उनै घाइतेहरूको रगतले त्यो कठपत्रेको भीर रगताम्य भएको दृष्य पनि अँझ ताजै छदैछ । वर्षयामा अबरुद्ध भएको सफा नगरेको कच्ची सडक, उसमा पनि बसमा यात्रुहरूको कोचाकोच, गाडीले धान्नै गाह्रो, दोषी कुन हो भनि छान्नै गाह्रो । यी यावत कुराहरू भनेर साध्य छैन । मृतकहरू फिर्ता हुने होइनन् तै पनि घटनाको यथार्त बस्तु स्थिति हेरी कारण पत्ता लगाउनु र छानवीन गर्नु, पुनः गल्ती दोहरिन नदिनु सम्बन्धित निकायको कर्तव्य हो । मैले यसमा धेरै भनी रहनु आवश्यक छैन ।

दुर्घटना भयो तर बस पनि जोरायलमा आउन बन्द भयो । यो कस्तो न्याय ? के दुर्घटना भयो भन्दैमा  गाडी बन्द गरिने त ? त्यसो भए त दुर्घटना दिनका दिन भइनै रहन्छन् । आलोपालो गरी कुनै कुनै सडकमा ठूला हुन वा साना दुर्घटना अवश्य पनि हुन्छन् । दुर्घटना भयो भन्दैमा मार्ग नै बन्द गरी दिनु कहाँ सम्मको न्यायोचित कुरा हो ? त्यसो हो भने जहाँ जहाँ दुर्घटना हुन्छन् त्यहाँ त्यहाँ गाडी बन्द गरी दिए भै हल्यो नि ! यातायातको नियमै यै हो त ? दुर्घटना हुँदैहुदैन भन्न सकिन्न तर सबै पक्षले सतर्क भयो भयो भने दुर्घटना न्युनीकरण चाँहि अवश्य गर्न सकिन्छ । विकल्पका बाटा र पाटाहरू थुप्रै छन् । तिनै विकल्पलाई अपनाएको खण्डमा अवश्य पनि दुर्घटना न्यून हुन्छ ।  

आकाशमा उड्ने देखि लिएर पतालमा गुड्ने सम्म , समुद्रमा पौड्ने अथवा पानी जहाज देखि लिएर पन्डुब्बी, डुङगा कहाँ हुँदैनन् दुर्घटना । भैँसी पाल्ने गोठालो रुखबाट खस्यो भन्दैमा भैँसी पाल्न छोडी दिने ? हवाइजहाज दुर्घटना भयो भन्दैमा कहिले पनि उडान नभर्ने उडानै बन्द गरी दिने ? के एउटा विरामीको मृत्यु हुँदैमा डाक्टरले औषधी गर्न छोडी दिने ? कुनै मान्छेको खाना खाँदै गर्दा मृत्यु भएमा खाना खानै छोडिदिने यही हो त नियम ? जोरायलको जनता मुखदर्शक भएर बसी रहेछ । कुनै चासो छैन, खै कहाँ छन् जोरायलका नेताहरू ? चुनावका बेला साउन भदौका च्याउँ उम्रिएझै उम्रिन्छन् । चुनाव गयो कि नेता पनि गयो । राजधानीमा बस्यो भत्ता पचायो यस बाहेक अरु कुनै काम छैन् । लाज पचाउनेलाई भत्ता पचाउन कत्ति पनि गाह्रो नहुँदो रहेछ । यस दुनियाँमा सब भन्दा बलियो त्यो हो, जसलाई लाज, सरम केही छैन । आज यो जोरायलमा कुशल राजनीतिज्ञ नेताको साह्रै खाँचो छ । यो, जोरायल नेतृत्व विहीन छ भने पनि हुन्छ । खै त यहाँ कहाली लाग्दो घटनामा पनि कति नेता आए ! पिडितहरूको घाउमा मलम लगाउन । कसले हेर्यो शोक सन्तप्त परिवारलाई ? के दियो राहत ? नियमले पाउने विमा रकम पनि सात महिना पछि पाए । आग्रह र पूर्वाग्रह रहित नेता हुन सकेका छैनन् जोरायलका नेताहरूले, फेरि सबैलाई भन्न खोजिएको हैन जसले यो व्यवहार गर्दछन्  त्यसैलाई मात्र ।

मान्छेमा मानवता हुनु पर्छ , यहाँ मानवता भन्दा दानव प्रवृत्तिका नेताहरूको संख्या अत्याधिक छ । यस्तै छन् हाम्रा नेताहरू यो जोरायलमा मात्र नभएर सिङ्गो डोटी जिल्ला भनौ या सुदूर पश्चिम नै विकासको क्रममा निकै पछाडि परेको छ । राज्यले नै सुदूर पश्चिमलाई सौतेनी व्यवहार गरेको छ । जसको परिणाम जोरायलले पनि भोग्नु परेको छ । तीन दशक बिति सक्दा पनि बुडरदेखि जोरायल सम्मको सडक ज्यूँका त्युँ छ । सडक पिँच हुनको सट्टा २०७१ मा रगतको किच भयो । २९ जनाको ज्यान गयो । मृतकहरूको व्यक्तित्वलाई हेर्दा कुनै कुरामा  पनि कम थिएनन् । के बालक, के बुढा, के युवा, के युवती,  के कर्मचारी, के किसान, सबै आ–आफ्नो क्षेत्रमा उत्तिकै व्यक्तित्व थिए । त्यसमा पनि अझै एक जना पत्रकार र एक जना वि.नि. (विद्यालय निरिक्षक)  जोरायलले गुमाउनु प¥यो । जुन जोरायलका लागि मुर्धन्य व्यक्तित्व हुनु हुन्थ्यो । ती अब हाम्रा सामु छैनन्, जोरायलका उदायमान चम्किला नक्षत्र सदा सदाका लागि अस्ताएर गए । जोरायल अँध्यारो भयो यसरी ः– 
वृद्धा–वृद्ध गयो युवा पनि गयो – सानो गयो बालक,
सारा खर्च चलाउने जन गयो – घरबार संचालक ,
त्यो शोभा घरको गयो धनगयो – ऐश्वर्य जम्मै गयो,
पत्रैकार गयो कठै ! वि.नि. गयो – जोराइल अँधेरो भयो !
           ।। १ ।।
छोरा, छोरी गयो बुवा पनि गयो – आमा, हजुर्मा गयो,
भान्जा, भान्जि गयो दिदी पनि गयो – बैनी र मामा गयो,
छोरी, ज्वाँइ गयो फुपू पनि गयो – काका र काकी गयो,
पत्रैकार गयो कठै ! वि.नि. गयो – जोराइल अँधेरो भयो !

नातीलाई भुल्याउने सुखदमा – बाजे, बराजे गयो,
जोडा साथ गयो युवा, युवतिको – सन्लाप माया गयो,
बाउसे साथ गयो हली पनि गयो – रोप्ने, रोपारी गयो, 
पत्रैकार गयो कठै ! वि.नि. गयो – जोराइल अँधेरो भयो !
           ।। ३ ।।
खेतीपाति लगाउने जनगयो – आधार यौटा गयो,
शोभा सार गयो युवा–युवतिको – सौन्दर्य टाढा गयो ,
‘कठपत्रेभिरमा’ गयो नि पहिरो – यात्रा अधुरो भयो ।
पत्रैकार गयो कठै ! वि.नि. गयो – जोराइल अँधेरो भयो !
           ।। ४ ।।
ती वृद्ध–वृद्धा जसले आफ्ना नातिनातिनाहरू लाई राम्रो फुल्याउने अनि आफ्ना छोराबुहारीलाई राम्रा–राम्रा अर्ती आदेश दिने गर्थे । आज तिनको अनुपस्थिति, तिनको अभावमा, ती साना अबोध शिशु र भर्खर भर्खर जुँगाँरेखी बसेका छोराहरू कही गलत बाटोमा लाग्ने पो हुन कि ? हुन सक्छ घरको एउटा अभिभावक वा घरको मुली नै छैन भने घरै बाङ्गो पो हुने हो कि ? ती युवती सीता, भृकुटी जस्ती एउटा आदर्श नारी पो हुन्थिन् कि ? ती किसान जसले आफ्नो किसानी छोडेर गए ती पनि कृषिको विशेषज्ञ बन्ने थिए कि ? सारा यी कुराहरू मन भित्रै खट्किएका छन् खट्किरहने छन् ।

ती साना बालबालिका जो भविष्यका कर्णधार हुन् । उनी त झन् के बन्थे डक्टर, पाइलट, इन्जिनियर, वकिल, नेता, नेत्री, अभिनेता, अभिनेत्री, मन्त्री, अर्थतन्त्र, अध्यापक, प्राध्यापक, सेनानी, वैज्ञानिक, अल्वर्टआइनस्टाइन, न्युटन, आर्कभिडिज, मार्काेनी, राइट दाजुभाइ कवि तथा साहित्यकार बालकृष्ण सम, भानुभक्त, मोतिराम, लेखनाथ, देवकोटा, सेक्सपियर, राजनीतिज्ञ तथा दार्शनिक वि.पि., गणेशमान पुस्पलाल, जवाहरलालनेहरू, लेनिन, माओत्सेतुङ, अहिंसा बादी नेता महात्मागान्धी शान्तिका दुत गौतमबुद्ध, यी सबै सपना चकनाचुर भए । यस जोरायल क्षेत्रका अमूल्य निधि भनौ या मुर्धन्य व्यक्तित्व, ज्वाज्वलमान एंव चम्किला नक्षत्र, पत्रकार र वि.नि. छोडेर गए ।

यो जोरायल मात्र नभएर सिङगो डोटी जिल्ला नै आंैसीको रात भएको छ । हुन सक्छ ती पत्रकार विविसीको सम्वाददाता पो हुन्थे कि ? ती विनि मन्त्रालयको उच्च पदमा पुग्थे कि ? यी सबै इन्छा आकांक्षा गर्भमै रहे, एउटा शिक्षा विद् पो बन्थे कि ? धन्य दैव !
 

कमेन्ट लोड गर्नुस