काल टरेको दिन
कुन्ती भट्ट- दशैँ हिन्दूहरूको महान पर्व, विशेष पर्व, जेष्ठ मान्यजनबाट आशिर्वाद बटुल्ने पर्व, असत्यमाथि सत्यको विजय भएको पर्व तथा हाम्रो संस्कृतिको पर्व । २०७१ को दशैँसँगै विभिन्न ठाउँमा कार्यरत कर्मचारीहरू धमाधम घर फर्किए, गाउँको वातावरण रमाइलो बन्यो । अरूबेला शान्त तथा मन्द देखिने मेरो सानो कोटेली गाउँ दशंैंको चहल–पहलसँगै भित्रिएका सुनौला र सुयोग्य मुहारहरुले एउटा सुन्दर सभ्य शहरभन्दा कम्ति बनेन । समय–परिस्थिति अनुकुल रहेर फरक–फरक ठाउँ अनि फरक–फरक कार्य गरिरहेका कर्मठ युवाहरूलाई एकै ठाउँमा जम्मा हुने सौभाग्य जुटाई दिएको थियो दशंैं पर्वले । त्यो बर्ष मातृ वियोगको पीडा मेरो घरमा दशैँ पर्व थिएन ।
म आफ्नो दुर्भाग्यलाई धिक्कार्दै भेटघाटका लागि गाउँमा फर्किएका आफन्तहरूसँग पीडा बाँड्दथे र निराश भएर बसिरहन्थे । १७ गतेको दिन मान्यजनबाट टीका ग्रहण गरी हर्ष उल्लासका साथ सबै–सबैले २०७१ को दशंैंलाई विदाई गरे । विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले आ–आफ्नो कार्यालयमा जानुपर्ने बाध्यता नै थियो । संयोगबस १९ गते साँझ हर्न बजाउँदै एउटा बस आयो । यस वर्षको वर्षा पश्चात्को पहिलो बस देखेर म दंग परे । मैले पनि भेटघाटको शिलशिलामा २० गते धनगढी जाने सोच बनाएकी थिए, बस आएकोले यात्रामा सहजता निम्तिने अनुमान गरे ।
बस चनकट्टेमै टनाटन भएर आउला र हामीलाई सीट नमिल्ला भन्ने डरले मानसिक रूपमा पिरोली रहँदा दाइले भन्नु भयो “म चनकट्टे पुगेर टिकट काट्छु र सीटमा बसेर आउँछु , तिमी खाना खाएर छिटो आउनु ।” दाइ र अरू गाउँले हाम्रो सहजताका लागि बस स्टेसन चनकट्टे जानु भयो । हामी धनगढी जानेहरू खाना खाई आफ्नो सरसामान तयार पारी दशं बजे राउतकट्टे कच्ची सडकमा उभिए । त्यो दिन हामी एउटै गाउँका सात जना कर्मचारी र चार जना अन्य गरी जम्मा ११ जना त्यो बसमा कुरिरहेका थियौँ । बस आएको थिएन पसल–पसलमा मीठा–मीठा कुरा गर्दै समय बिताई रहेका थियौँ । त्यसै बेला नेपाली सेनामा कार्यरत मेरा दाइका दौतरी तथा प्रिय भदु नवराज भट्टले सम्मानात्मक शैलीमा हालखबर सोध्न थाले ।
“फुपु पनि धनगढी जाने हौ ? के कामले जाँदै हुनुहुन्छ ?, आज भोलि कान्छा अंकल कहाँ छन् ? तिहारमा घर आउँछन् की ?” मैले पनि सबै प्रश्नको उत्तर दिए र हामी बीच यस्तै प्रकारका भलाकुसारी चलिरहे । नवराज तिमी विदेश कहिले जान्छौ त ? भन्ने प्रश्नमा कार्तिक १७ गते भनी जवाफ दिए पश्चात उसैले भन्यो “फुपू तल पसलमा झोला छ त्यहीं बसौं ।” त्यो पसलमा गयौँ त्यहाँ सबै गाउँलेहरू हाँसो, मजाक र ठट्टा गरिरहेका थिए हामी पनि त्यसैमा सामेल भयौँ । कहिलेकाँही बस उकालामा अडिएर रोडमा घाँस बिच्छाउने र रसीले तानेर लैजानु पर्ने अवस्था हुन्थ्यो, त्यो सम्झेर व्यङ्ग्यात्मक ढंगले भन्न थाले “जोरायलको बस उकालामा घाँस खान्छ, घाँटी बाँधेर तानेर लैजानु पर्छ ।”
यस्तै प्रकारका रमाइला रमाइला गफहरूले हाँसोका खित्काहरू पसल भरी नै फिजिरहेका थिए । एघार बज्न लाग्यो अँझ पनि बस आएन ! सीट ल्याउन गएका मानिसलाई फोन गर्दा त नदीमा धसिएको खबर आयो । बस निस्क्यो कि निस्केन भनी पटक–पटक फोन गर्दा त्यही उत्तर आउँथ्यो र अन्त्यमा के भन्यो भने बस निस्के भने म आफै फोन गरूँला । त्यसपछि हामी पुनः कुरा गर्न थाल्यौँ । भदु डिल्लीराजले भने “भाइ नवराज आज १२ बज्न लाग्यो बस आएको छैन जोरायल त यस्तो हुँदैछ त्यो बस फेरि उकालामा जान असम्भव छ । भोलि म पनि जाँदैछु तिमी र म सँगै जाउँला । बिहानै घरबाट पैदल यात्रा ग¥यौ भने हामी २ बजे धनगढी पुग्छौं ।” यति सुने पछि नवराजले पनि “ म भोलि नै जान्छु” भन्दै झोला समातेर केवल १० मिटर जति पसलभन्दा अगाडि घर जाने बाटो तर्फ के हिडेको थियो त्यसै बेला उसको मोबाइलमा फोन आयो र गाडी निस्किसकेको खबर पाउँदा “अहँ म त आजै जान्छु” मुस्कुराउँदै अँझ त्यही पसलमा आयो ।
हामीले बस भित्र प्रवेश ग¥यौ र सिटमा बस्यौँ । भदु टेकराज भट्ट र बुहारी पशुपतिसँगै क्याविनको सिटमा सहज तरिकाले बस्न पाउँदा खुसी अनुभूति भयो । सबै सीटहरू प्याक थिए दाजु र टेकराजका बुवा बाहेक अरू सीट ल्याउन गएका थिएनन् । त्यसकारण मेरा गाउँका आफन्तहरू कोही ग्यालरीमा बस्न विवश भए भने कोही हुटमा बसेर यात्रामा सरिक भए जे भए पनि गाउँका आफन्तहरू बीच एउटै बसमा सहयात्रा गर्ने अवसर जु¥यो । आफन्तहरूले भनेका शुभयात्रा र वाइबाइ जस्ताु शुभचिन्तक आवाजमा धन्यवाद दिदै बसको गतिसँगै राउतकट्टेबाट छुट्टियौँ । बस ठाउँ–ठाउँमा रोकिदै गयो र ठाउँ–ठाउँमा यात्रुहरू पनि बस भित्र थपिदै गए । काँधमा झोला, हातमा विभिन्न सामग्री निधारमा रातो टीका तथा कानमा जमरा सहित बसभित्र प्रवेश गर्ने यात्रुको संख्या निरन्तर चलिनै रह्यो । पहेंला जमरा निधारभरी रातो टीका लगाएका परिचित यात्रुहरूलाई देखेर मेरो आँखामा आँसु आउँथ्यो । म मनमनै सोच्थे ‘मेरी आमा भएकी भए म पनि यसरी टीकासँगै जमरा पहिरिएर आउँथे ।’ मेरा निधार खाली थियो कपाल खाली थियो अरू सबै आइमाइ र युवतीहरूका कपालमा पहेंला जमरा टल्किरहको थिए ।
आमा नहुँदाको अनेक पीडा मनमा खेलाइ रहेकी थिएँ । बस पनि जोरायलको अन्तिम मैदान भाग हाटमा पुग्यो एकछिन रोकेर पनः थप यात्रुहरू गाडीभित्र प्रवेश गराई बस अगाडि बढ्यो । बस यसरी भरियो कि एउटा खुट्टा पनि राख्ने ठाउँ बाँकी नरहेर । उकालो लाग्यो, बस धेरै यात्रुहरू र सामानले भरिपूर्ण तथा ओभर भएकाले माथि चढ्न सकेन । बसमा रहेका आधा भन्दा बढी यात्रु उत्रिएर र उकालामा पैदल यात्रा गर्न थाले । अलिकति मात्र यात्रु लिएर बस उक्लिदै गर्दा झ्याप्प रोक्यिो किन रोकेको भन्दा पट्टा टुट्यो भन्ने जानकारी प्राप्त गरे । धेरै यात्रुहरू हिनेर बाँजिलेक पुगिसकेका थिए तर म र मेरी बुहारी बसभित्र बसेर कुरा गर्न थाले । हाम्रो भेट त्यो दिन दोस्रो पल्ट भएको थियो । उनी पनि भर्खरै शिक्षक सेवा आयोगमा पास भएर माध्यमिक तहको गणित विषयमा अध्यापन गराउँथिन् । मैले उनलाई धेरै कुरा सोधें बजारबाट अध्यापन गर्ने विद्यालय कति टाढा छ ?
“बजार भन्दा अलि टाढा छ फुपू”
टाढा किन, महिलालाई पहिले छनोट गर्न दिएन र ?
“दिना त दिएका हुन, हजुरका भदुको सरुवा हुने थाहा थिएन त्यसैले बजारमा एक्लै बस्नु भन्दा माइती घर नजिकको आफूले १० कक्षासम्म अध्ययन गरेका विद्यालय नै रोजें ।”
त्यसो भए त आनन्द भयो नि अरू काम गर्न नि सजिलो ।
“सबै कुरा ठीकै छ फुपू बरू हजुर के को तयारी गर्दै हुनुहुन्छ ?”
मैले भने मेरो त केही छैन पढ्ने मनै लाग्दैन ।
उनले मलाई सम्झाउँदै भनिन् “धेरै चिन्तिन नहुनु फुपू जति मानेपनि आमा फर्किने हैनन् । जीवनभरी आमा बुवा कसैको रहँदैनन ढिलो चाडो मात्रै हो । के गर्ने दैवले दिएको चोट सबैले सहनै पर्ने रहेछ । त्यसैबेला भदु टेकराज भट्ट बाहिरबाट काँक्रो फुटाएर ल्याए र भन्यो “फुपू काक्रो खानु” बुहारी र म हामी दुबैले काँक्रो खाँदै कुरा गरि रह्यौ । मैले सोधे आज धनगढी जानुहुन्छकि महेन्द्रनगर, उनले भनिन् “छिटो पुगेपछि त महेन्द्रनगर जानु हुन्थ्यो, केही सामान छ यताउति गर्न आपत् हुन्छ राति भयो भने धनगढी जान्छौं ।” यति कुरा गर्दा गर्दै बस पनि चल्न सुरू भयो । हिडेर गएका सबै यात्रुहरूलाई बस भित्र चढायो ।
अब त अप्ठ्यारो बाटो पार गरी सक्यो सबै यात्रुहरूलाई गन्तव्य स्थानमा राम्ररी पु¥याउँछ भन्ने सोच भयो । जोरायलको सुन्दर दृश्य सँगै विदा माग्दै बस बाँजिलेक बाट अगाडि बढ्यो । तेर्सो बाटोमा बस दुगुरी रहँदा टाउको दुखेको जस्तो अनुभूति भयो र म आफ्नै काखको झोलमा घोप्टिएर बसेकी थिए । थोरै मात्र बस अगाडि पुगेपछि ठूलो आवाज आयो, बस भित्रैका यात्रुहरूले कराएको । जोरको चिच्याहाटसँगै टाउको माथि उठाए, “बस पल्ट्यो, बस पल्ट्यो” भन्ने स्वरमा स्वर मिलाए तर आँखा खोल्न सकिन । अब त जीवन समाप्त हुन्छ भन्ने सोच भयो, कसैलाई पनि सम्झिन सकिन । नजिकै बसेकी बुहारी पशुपति भट्टको हात जोरले समाते । चारपटक सम्म बस भित्रै यताउति ठोक्किएको तथा उछिट्टिएको याद छ त्यही बेला सम्म हामी दुबैका जोडिएका हात छुटेका थिएनन् । त्यसपछि के भयो मलाई थाहा छैन ।
एउटा सानो बोट थियो खुट्टा त्यही बेरिएर ढुङ्गा माथि आफू सुतेकी थिए । निन्द्राबाट बिउँझिए जस्तै मेरो होस् आयो, बल्ल तल्ल टाउको सम्म उठाउन सकें माथि रोड र तलको त्यो खोलासम्म नजर लगाए । मान्छेहरू एक ठाउँमा थिएनन् न त बस थियो नत यात्रुहरूको हसिलो अनुहार नै । कोही ऐया ! ऐया !! भन्दैथे कोही मर्नेबेला अन्तिम पटक आमा बुवालाई सम्बोधन गर्दै “मरे आमा ! मरे बाबा !” भन्दै थिए । मैले कसैलाई चिन्न सकिन १ मिनेट अगाडिका सबै आफन्त र परिचित मुहार त्यतिबेला अपरिचित बने कारण मेरो आफ्नै प्राण संकटमा थियो ।
आफू पल्टेकै स्थान नजिकैको दुर्दशा हेरे । कसैको टाउका फुटेका, कसैका हात खुट्टा टुटेका, रगतको खोला बगिरहेको, कसैलाई बाहिरी शरीरमा केही पनि चोट नलागेको तर भित्री चोटले गर्दा आवाजसम्म पनि निकाल्न नसक्ने अवस्थामा पल्टेका र कसैले ज्यान समेत गुमाइ सकेको दुःखद र असह्य दृश्य हेर्न बाध्य भएँ । मेरो कानमा ‘मरे ! आमा बाबा’ भन्ने वाक्य र कोही बोल्न नसकेर अँ, अँ गररे कनिरहेका प्रस्ट शब्दहरू ठोक्किरहँदा म साहै्र आँत्तिए । मैले आफूलाई हेर्न खोजे, मेरो शरीरका अङ्ग काटिएका, थिचिएका र रगतले लित्पितिएका थिए । लगाएको कपडा च्यात्तिएको थियो । रूदै, कराउँदै उभिन खोजे त्यसैक्रममा माथिबाट एउटा ढुङ्गो आयो र मेरो खुट्टामा ठूलो घाउ बनायो र म फेरि पल्टिए यदि टाउको उठाउन नसकेकी भए मलाई पनि त्यही ढुङ्गाले कालको आहारा बनाउथ्यो होला । सबैलाई आ–आफ्नै पीडा थिए, होशमा आएका तथा अलिकति चोट लागेका घाइतेहरू माथि रोडमा आउने प्रयास गरी हिड्दा उनीहरूका हिडाइले ढुङ्गा तल पल्टदैथे । ती ढुङ्गहरूले तल रहेका घाइतेको शरीरमा पीडा थपिरहेका थिए । कतिपय घाइतेहरू ज्यान गुमाउने अपराधी यिनै ढुङ्गाहरू भएको कुरा आँखा सामु राखेर म झनै छट्पटिन थाले ।
मैले सोचे अब यो घटनाको खबर घर सम्म पु¥याउँ भनेर खल्टीमा हेरे मोबाइल थिएन । मलाई याद भयो बसमा बसेको बेला रूमालले बेरेर मोबाइल बाँया हातमा समातेकी थिएँ । आफू पल्टेको स्थानमा हेरे अलि माथि तिर मोबाइल देखियो शरीर काँपिरहेको थियो, आँखामा आँशुका धारा बगिरहेका थिए, कपाल फुकी सकेको थियो । धेरै प्रयत्न पश्चात मोबाइल त समात्न सके तर कसैको नम्बर चिन्न सकिन । त्यत्तिकै फोन गरे खै कहाँ गरिरहेको थियो आफैलाई थाहा थिएन । जे होस् फोन सही ठाउँमा गएको रहेछ बहिनीको आवाज आयो तर के के भने त्यो भने थाहा भएन । दुबै हात र खुट्टा टेकी माथि जान सकिन्छ कि भनेर विचार गरे तीनचार पाइला अगाडि सरेर हेर्दा मेरो भदु नवराज फुपू मलाई बचाऊ ! भन्दै थियो । खुट्टा भाँचिएका र टाउको पनि उठाउन सकेको थिएन । अरू को–को हुन् रगताम्य अवस्थामा हुनाले चिन्न सकिन धेरैले ज्यान गुमाइ सकेका थिए । त्यो दृश्य देखेर असह्य भयो र मेरो होश हरायो मैले कसैलाई पनि देखिन । धेरै लामो समय पछि मैले आफूलाई सडकमा सुतेकी अवस्थामा पाएँ । मेरा घाउहरु कपडाले बाँधिएका थिए ।
म सुतेको वरिपरि घाइतेहरू र प्राण गुमाइ सकेका शरीरहरू सुताइएका थिए । मैले टाउको उठाएर पानी–पानी भने तर खतरा हुन्छ भनेर एक घुट्टो मात्र दिए । एकै सीटमा बसेका भदु र बुहारीको याद आए पश्चात उनीहरूको बारेमा चिनेका केही मानिसलाई सोधें; थाहा छैन भन्ने उत्तर मात्र आउँछ । एक छिनमा मेरा दाइ र गाउँले पनि पुगिसकेका थिए । सबै आ–आफ्नै मान्छेलाई खोजिरहेका थिए । भदु नवराजलाई पनि रोडमा ल्याइसकेका थिए । मैले दाजुलाई भने विनिको जोडी देखिएको छैन त्यसपछि दाइ हतार–हतारमा तल गए मैले दाइ सामु जिज्ञासा राखे–के छ विनिको खबर ? दाइको शरीर काँपिरहेको थियो, आँखामा आँशु थिए, निधारमा पसिना बगिरहेको थियो । उहाँ निन्याउरो स्वरमा विस्तारै बोल्नु भयो “विनिको जोडी छैन ! हामीलाई छोडेर गैसके भर्खरै रोडमा ल्याएर राखे ।” बाटोभर एकै सिटमा बसेर कुराकानी ग¥यांै, सँगै काँक्रा खायौँ, गाडी पल्टिने बेला सँगै हात समाती चारपटक सम्म सँगै पल्टियौ तर पछि त्यही जोडीले प्राण गुमायो भन्दा सहनै सकिन, मलाई पीडा माथि पीडा थपियो । मैले होश विहोश अवस्थामा ती मृत शरीरलाई भेट्ने इच्छा प्रकट गरे तर कसैले पनि ‘घाइतेलाई देखाउनु हुँदैन’ भनेर मलाई मेरा प्रिय भदु र बुहारीको लास हेर्न दिएनन् । सबै मान्छेहरू आ–आफ्ना आफन्तका लास र घाइतेहरू खोजिराखेका थिए । प्रहरी पनि घट्नास्थलमा पुगिसकेका थिए । आफन्त गुमाउनेहरू त्यस स्थानमा रोइकराइ रहेका थिए, त्यस भीरमा हाम हाल्न खोजिरहेका थिए । एकातिर ज्यान गुमाइ सकेका र घाइतेको उद्धार कार्य अर्कोतिर पीडितका आफन्तलाई समाल्न धांै–धौं परिरहेको थियो । होशमा आएका बोला मेरा आँखाले यस्तै दृश्य खेप्नु पर्दथ्यो र असह्य भई पनुः म विहोश हुन्थे ।
समय भएमा महेन्द्रनगर र ढिलो भएमा धनगढी सम्मको यात्रा गर्ने ती जोडीको यात्रा कठपत्रे मै सीमित रह्यो । आफूले अध्ययन गरेको विद्यालयमा अध्यापन गराउन पाउँदा खुशी लाग्यो फूपु भन्ने बुहारीको खुशी त्यही ढुङ्गामा रह्यो । आमाको शोकमा धेरै चिन्तित नहुुन फुपु भनेर मलाई सम्झाउने मेरी बुहारी मलाई झन शोकमा डुबाएर गइन् । मेरा दाइका दौतरी टेकराज त्यही अस्ताए । दाइसँगै पढ्ने, लेख्ने, मेला पर्व चाडबाडमा रमाइलो गर्ने तथा समयको परिवर्तन सँगै आ–आफ्ना कार्यमा व्यस्त भए पनि दशंै तिहारको अवसरमा घरमा आएर एक अर्काको घरमा जाने, जे मीठो परिकार पकाइएको छ, जे फलफूलहरू छन् ती बाँडेर खाने, तिहारको अवसरमा पञ्चेबाजा बजाई देउसी भैलो खेल्ने, कसैले तिमी त विनि हौ हामीले सम्मान गर्नु पर्दछ भन्दा अहँ म यही धुलो माटोमा हुर्केको मान्छे, मलाई आफै सरह सोच्नु पर्दछ भनेर भन्ने र मसँग पनि नातागत सम्बन्धमा उच्च सम्मानका साथ बोलिरहने भदु टेकराज भट्टको याद अत्यधिक आउन थाल्यो । २०७१ असोज २० गतेका दिन एकैबसको एकै सिटमा बसेको र उनले गुयलीको उकालामा काँक्रो फोरेर दिएको क्षण मेरो लागि सदा–सदा दिगो स्मरणमा रहिरहनेछ ।
अध्याँरो हुन लागेको थियो मेरा दाइ र गाउँलेहरू घाइतेलाई त्यो रक्ताम्य स्थानबाट अगाडि राख्ने काम गर्दै थिए । मलाई भाइ दिनेश भट्ट, डिल्लिराज भट्ट, गिरिजा भट्टले बोकेर त्रिपालमा सुताए । मेरा नजिक भदु नवराज पल्टेको थियो । ऊ भन्दै थियो “मेरा खुट्टा मात्र भाँच्चिएका छन् अरू केही भएका छैन ।” घरमा पनि फोन मार्फत कुरा गरिरहेको थियो । अलिकति स्वस्थताका कुराहरू सुनाइ नै रहेको थियो । त्यसै बेला उसले फुपू पानी छ भन्यो र मैले ठूलो स्वरले भने दाइ नवराजले पानी भन्यो भनेर त्यसपछि पानी पनि पियो र फेरि पल्टियो । एकछिन पछि फेरि भन्यो “फुपू दिशां बस्छु ।” मैले दाइलाई भने तर कसैले सुनेन टाउको उठाएर एउटा सानो ढुङ्गा समाते र त्यो ढुङ्गाले हाने त्यसपछि उनीहरू मिलेर त्यो सुतेको त्रिपाल भन्दा एक मिटर पर दिशां गर्न बिसाए र फेरि त्यसै त्रिपालमा बिसाए । अध्यारो भैसकेको थियो घाइतेको उद्धार गर्न प्रहरीका गाडी आउँदै थिए मेरा दाइले बोकेर मलाई पनि त्यो गाडीको पछाडि बिसायो । अरू धेरै घाइतेहरू र घाइतेका आफन्तहरू पनि बसे । मेरो घरमा बुवा एक्लै हुनाले मैले दाइसँग अस्पताल नजान आग्रह गरे र मसँग अम्भिका दाइ अस्पताल जानु भयो । गाडी भित्र एउटा पानीको जर्किन र एउटा टायर मात्र राखेका थिए । केही बस्न सक्नेहरू बसे भने नसक्ने पल्टेका थिए । बस पल्टेदेखि काँपेको मुटु पछि त जाडोले पनि काँप्न थाल्यो । त्यो गाडीमा बस्नासाथ नवराजका ससुरा पनि आइसकेका थिए । उनले आफ्नो काखमा ज्वाँइलाई सुताएर लैजानु भयो ।
गाडी चलिरहेको थियो होस्मा आएका बेला फेरि यो गाडी पनि पल्टिदैछ भन्ने अनुभव हुन्थ्यो । रिठागाउँ नजिकै पुग्दा नवराजले पानी भन्यो । जर्किनको पानी पिए पश्चात पुनः नवराज ससुराकै काखमा पल्टिएको थियो । धेरैवेरसम्म केही पनि हलचल नभए पछि, छतिवन गाउँ नपुग्दै टर्च बालेर उसको मुखमा हे¥यो । आँखाको सेतो भाग मात्रै टल्कियो । उनका भाइ गिरिजा भट्टले ‘दाइदाइ’ भनी बोलायो बोलेनन् । हात खुट्टा चलायो, चलेनन् छाति छाम्यो र हामीलाई छोडेर गैसके सास छैन भनेर भन्यो । तब मेरो मन झन डरायो । आफूसँगै गाडीमा बसेका तीनजनाले ज्यान गुमाउँदा । केही समयपछि भदै जानकी भट्टले पनि ज्यान गुमाइ सक्यो भन्ने खबर सुन्दा म विहोश अवस्थामा रहे । रातिको ३ बजेको थियो मलाई अस्पतालको बेडमा सलानी चढाएको र वरिपरि दाइ, बहिनी र अन्य नातेदारहरूले घेरेको अवस्थामा होशमा आए । विहानको ५ बजेसम्म आरामले पल्टिरहे । उज्यालो नहुँदै सम्पूर्ण नातेदार इष्ट, मित्र, हाम्रा दाइभाइका साथीहरू भेट गर्न भनेर आए । यो क्रम एक हप्ता सम्म चलिनै रह्यो । भेटघाट गर्ने आफन्तहरूको भीड नै लाग्दा दुःख पर्दा आफन्तहरू धेरै रहेछन् भन्ने सोचे । म अस्पतालमा उपचारार्थ पल्टिरहँदा त्यो कहाली लाग्दो घट्नालाई सम्झिरहन्थे । आफूले कालबाट छुटकरा पाउँदाको खुशी भन्दाबढी दुःखका समचारहरूले मलाई सताइ रह्यो । काठमाण्डांै यात्रा गर्ने मेरो भदु नवराज त्यो छतिवन गाउँसम्ममा सीमित रह्यो । पसलमा बस्दाखेरी “आज जाँदैन भोलि जान्छु” भनेर १० मिटर हिडेको नवराजलाई कालले फर्काएको रहेछ , नबसेको भए यो दुर्दशा देख्नु पर्ने थिएन ।
धनाड्य र सम्पन्न परिवारहरू पहिले नै कैलालीतिर बसाइसराई गरिसकेकाले गरीब र विपन्न परिवार मात्र बसोबास गर्ने कोटेली गाउँका औषत ५० प्रतिशत युवाहरू सरकारी जागिरमा आवद्ध थिए । श्रेणी विहिन देखि लिएर अधिकृत तहका कर्मचारी रहेको गाउँ आज अन्धकारमय बनेको छ । यहाँका गाउँले मानिस मात्रै हैन चराचुरूङ्गी, वनपाखा र खोलानालाहरू पनि विलाप गरिरहेका छन् । कर्मचारीको नामले प्रचलित गाउँ आज अशिक्षित र बेरोजगारको शहर भयो । कठपत्रे घटनाले कोटेली गाउँलाई शोकमा डुबायो र साहारा विहीन बनायो । एकै सानो गाउँका विद्यालय निरिक्षक माध्यमिक तहका शिक्षिका, नेपाली सेना र एक जना विद्यार्थी लागि ४ जनाले हाम्रो आशा र विश्वासलाई टुटाई हामीलाई अलपत्र अवस्थामा छोडेर गए । अब हामीसँग उहाँले बोलेका शब्द र उहाँसँगै बिताएका क्षण स्मरणमा मात्र बाँकी रहे ।