सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक मर्मतको माग गर्दै प्रशासन र उपमहानगरपालिकामा ज्ञापनपत्र

२०७७ भदौ २९, ०६:१६ खबर संवाददाता

धनगढी: निर्माण व्यवसायीले सडकमै निर्माण सामग्री अलपत्र छोड्दा आवतजावतमा समस्या भएको भन्दै मर्मतको माग राखेर उपदेश युवा क्लवले जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।  

क्लबले धनगढी उपमहानगरपालिका ६ जालीको पिपल चोकदेखि वडा नम्बर ५ को जाई चोकसम्मको सडकमा निर्माण सामग्री गिट्टी, ढुंगा बिच सडकमै अलपत्र छोडिदा नागरिकलाई ओहोरदोहोर गर्न निकै समस्या भएको भन्दै ज्ञापनपत्र बुझाएको हो। 

जिल्ला प्रशासन कार्यालयमा क्लबको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले निर्माण व्यवसायीलाई सो सडकको मर्मतका लागि निर्देशन दिने बताए। उता धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निर्माण व्यवसायीलाई चाडै काम गर्न दवाव दिने प्रतिबद्धता व्यक्त गरे। 

‘लगातार जेठदेखि निर्माण भइरहेको मुख्य सडकमा अहिले ढलको नाली निर्माण सम्पन्न भएको छ’ ज्ञापनपत्र बुझाउदै उपदेश युवा क्लबका अध्यक्ष श्रवण देउवाले भने ‘निर्माणसंगै सडकमर्मत गरेर नागरिकलाई सहज आवतजावत गर्ने वातावरण बनाउनुपर्छ।’ 

निर्माण कार्यलाई क्लव तथा स्थानीयहरुले सहयोग गर्दागर्दै पनि निर्माण व्यवसायीको लापरवाहीका कारण सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको क्लबका सचिव अर्जुनसिह महतोले बताए। 

उक्त सडक समस्याको सम्बोधन तत्काल नभए थप संघर्षका कार्यक्रम समेत अगाडि बढाउने क्लबले जनाएको छ।

कमेन्ट लोड गर्नुस