सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्टले भने, ‘दिनेश सञ्चार गृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ’

२०७७ भदौ २९, १२:३७ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाही हुने बताएका छन्।

नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन्। ‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै मैले प्रहरी, प्रशासनसंग कुराकानी गरेको थिए,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे जानकारी लिएको छु। घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु।’

समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए। नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे। दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेका छन्। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिइएको हो।

आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। आन्दोलन अन्तर्गत भोली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ। शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५र२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो।

तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। तर प्रहरीले भने अहिले पनि १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको बताउँदै आएको छ।

कमेन्ट लोड गर्नुस