बझाङमा पिसिआर मेसिन पुग्यो
प्रताप ओली, बझाङ: शुक्रबार बझाङमा पिसीआर मेसिन पुगेको छ। गत जेठमा बझाङका स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो। त्यसयता विभिन्न समयमा बझाङमा मेसिन पुग्ने हल्ला भएका थिए तर बाढी पहिरो र निषेधाज्ञा लगायतले मेसिनलाई जिल्ला भित्र्याउन कठिनाइ भएको थियो।
मेसिन ल्याउन सफल भएपनि अझैं असोज पहिलो सातासम्म कुर्नुपर्ने जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा सन्दिप ओखेडाले बताए। उनका अनुसार मेसिन ल्याएपनि मेसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको मेसिन जडानमा व्यस्त भएकाले तत्काल जडान नसकिने भएको हो।
बैतडीमा सकिनासाथ इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको ३÷४ दिनमै मेसिन जडान गरी सक्ने प्रमुख डा ओखेडाले बताए। उनले भने, ‘हामीलाई विभिन्न ठाउँबाट अवरोध भयो। समयमै स्थानीय तहबाट रकम जम्मा भएन। त्यसपछि दुई हप्ता टेण्डर प्रक्रियामै बित्यो। टेण्डर भइसकेपछि पनि ठेकेदारको अर्कै प्रक्रिया बाढी पहिरो लगायतले मेसिन समयमै ल्याउन सकिएन।’
मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौसँग १ करोड २५ लाख ४२ हजार १०० भ्याटसहित सम्झौता भएको थियो। मेसिन जिल्ला भित्रिएसँगै नमूना स्वाबको नतिजाका लागि हप्तौसम्म कुर्नुपर्ने र सिमित रुपमा मात्रै नमूना स्वाब संकलन गर्नुपर्ने बाध्यता हटेको छ। अब स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको एक टोली समुदाय स्तरमा गएर नमुना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताए। यस मेसिनले दिनमा २०० नमुना स्वाब परिक्षण गर्न सक्छ।
गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भएपनि नेपाल र चिनको सिमानाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए। मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०/१० लाख छुट्याएका छन्।