सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कसरी फैलियो कोरोना ?

२०७७ भदौ २६, ११:३५ नवराज पनेरु

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा यतिखेर कोरोना भाईरसको संक्रमण बढ्दै गएको छ। धनगढीमा भदौँमा थपिएका ९० प्रतिशत संक्रमित स्थानीय छन्। तर संक्रमणको चरण भने अझै पनि दोस्रो नै रहेको दावी सरकारको छ। चैत १४ गते युएयको दुवईबाट धनगढी फर्किएका ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो नै सुदूरपश्चिम प्रदेशमा भेटिएको पहिलो संक्रमण हो। नेपालमा लकडाउन सुरु भएको तीन दिनपछि उनलाई संक्रमण पुष्टि भएको थियो। चैत २२ गते पहिलो संक्रमितकी भाउजुलाई संक्रमण पुष्टि भयो। सोही दिनदेखि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको सरकारले घोषणा नै ग¥यो। अर्थात कोरोना भाईरसको संक्रमण धनगढीबाटै दोस्रो चरणमा प्रवेश गरेको थियो। 

जेठको ९ गतेसम्म धनगढीमा दुई र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ मात्रै थियो। झण्डै ४० दिनसम्म प्रदेशभरी नयाँ संक्रमित फेला परेका थिएनन्। सो अवधिमा प्रदेश सरकारले कोरोना मुक्त प्रदेश भएको भन्दै छाती चौँडा पारे। नयाँ संक्रमित थप नहुनुको कारण भने परीक्षण नै कम हुनु थियो। जेठ १० गतेपछि भने सुदूरपश्चिम प्रदेशमा दैनिक संक्रमण ह्वात्तै बढ्यो। एकैदिन पाँच सय १५ जनालाई पनि संक्रमण पुष्टि भएको थियो। तर पनि धनगढीमा दैनिक दुई÷चार जना मात्रै संक्रमित थपिदै थिए। 

एक सय २० दिनसम्म चलेको लकडाउनको अवधिमा धनगढीमा परीक्षण बढेन्। स्थानीय सरकारको ध्यान लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण र उनीहरुका लागि राहत संकलनमा बढि केन्द्रित भयो। टेस्टिङ र ट्रेसिङ ओझेलमा प¥यो। आर्थिक बर्षको अन्त्यतिर भएकाले बजेट कसरी सिध्याउने ? भन्ने विषयमा स्थानीय सरकार केन्द्रित भयो। 

होम क्वारेन्टिनर होम आईसोलेसनले बढाएको जोखिम
एक सय २० दिनपछि लकडाउन खुल्यो। लकडाउन खुलेसंगै सबै क्वारेन्टिन बन्द गरेर धनगढी उप महानगरपालिकाले कोरोना भाईरसको रोकथामको जिम्मेवारीबाट पन्छिने प्रयास ग¥यो। त्यस्मा प्रदेश सरकार पनि मौन बस्यो। होम क्वारेन्टिन र होम आईसोलेसनलाई जोड दिन प्रदेश सरकारले नै भूमीका खेल्यो। भारतबाट आएका नगरिक सिधै घर मात्रै जान थालेनन् कोरोना पुष्टि भएका व्यक्तिलाई पनि घरमै बस्न लगाइयो।

जस्का कारण अहिले धनगढीमा बाह्य ट्राभल हिस्ट्री भएका व्यक्ति भन्दा स्थानीय संक्रमितको संख्या बढि छ। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले स्थानीय संक्रमितको संख्या बढ्दै गएको बताए। ‘धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या तीन सय ६८ पुगेको छ। संक्रमण पुष्टि भएका एक सय ९१ जना स्थानीय छन्।

उनीहरुको बाह्य ट्राभल हिस्ट्री छैन्,’ उपाध्यायले भने, ‘पछिल्लो केही दिनयता संक्रमण पुष्टि भएका झण्डै ९८ प्रतिशत संक्रमित स्थानीय छन्।’ उनले एकै परिवारका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि हुने क्रम बढेकाले समुदायमा संक्रमण फैलिने खतरा झनै बढेको बताए। उनले भारतबाट फर्किएका नागरिक निर्वाध रुपमा घुम्न थालेपछि स्थानीयमा संक्रमण फैलिएको बताए। 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की भन्छन्, ‘धनगढी उप–महानगरपालिकामा स्थानीय संक्रमितको संख्या बढि हुनुको कारण होम क्वारेन्टिनको अवधारणालाई कार्यान्वयन गर्नु नै हो।’ भारतबाट आएका नागरिकलाई सुरक्षित राख्न नसक्दा धनगढीमा स्थानीय संक्रमित बढेको उनले बताए।

‘अहिले कोरोना संक्रमणको चरण दोस्रो हो। स्थानीय संक्रमित फेला पर्दैमा समुदायमा संक्रमण फैलियो भन्न मिल्दैन्,’ उनले अगाडि थपे, ‘अहिले संक्रमण पुष्टि भएका अधिकासंको स्रोत खुलेको छ। संक्रमित व्यक्तिको स्रोत नै नखुलेपछि समुदायमा संक्रमण फैलिएको मानिन्छ।’ उनले धनगढीमा समुदायमा संक्रमण फैलिने जोखिम भने निकै बढि रहेको बताए। 

भारतीय नागरिकले बढाएको जोखिम
बुधवार धनगढीमा सैलुन सञ्चालन गर्दै आएका भारतीय नागरिकलाई कोरोना पुष्टि भयो। उनी तीन साताअघि मात्रै भारतबाट धनगढी आएका थिए। यस्ले धनगढीमा भारतीय नागरिकको आउजाउ निर्वाध छ भन्ने पुष्टि गर्छ। त्यसैले ट्राभल हिस्ट्री नभएका गाउँगाउँका मानिसमा संक्रमण भेटिनु पछाडि भारतीय श्रमिकको निर्वाध प्रवेश र नेपालीहरूसँग घुलमिल पनि हो।

सीमा नाकामा भारतीय नागरिकलाई प्रवेश अनुमती नभएपनि प्रहरी प्रशासनलाई आर्थिक प्रलोभवनमा पारेर सयौँ भारतीय मजदुर अहिले धनगढी भित्रिएका छन्। उनीहरु मध्ये निकै कमले कोरोना परीक्षण गरेका छन् भने उनीहरु निर्वाध रुपमा काम गर्न थालेका छन्। जस्का कारण ट्राभल हिस्ट्री नभएका गाउँगाउँका स्थानीयमा संक्रमण फैलिन थालेको छ। 

कोरोना भाईरसको रोकथामका लागि सर्वसाधारणले सतर्कता नअपनाउँद्या पनि जोखिम बढेको कतिपयको धारणा छ। 

समुदायमा अझै भएन परीक्षण
धनगढी उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि पहिलो चरणमा ८ वटा वडा छनोट ग¥यो। तर दोस्रो दिनदेखि छनोट भएका वडा भन्दा अन्य वडामा संक्रमित बढ्न थाले। वडा नम्वर ५ मा सबैभन्दा बढि संक्रमित थपिए। संक्रमित बढ्दै गएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको संख्या पनि बढि भयो।

अहिले स्वास्थ्य कार्यालय र उपमहानगरपालिकाले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिरहेका छन्। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्रै परीक्षण हुँदा समुदायमा कोरोना फैलिएको छ वा छैन् भन्ने विषयमा पनि अन्योलत बढेको छ। एकै जना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा धनगढीमा ३० भन्दा बढिलाई कोरोना देखिएको छ। धनगढीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, एम्बुलेन्स चालक, व्यापारी, शिक्षक लगायतमा संक्रमण पुष्टि भएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस