धनगढीमा घाईते तथा टुहुरा वन्य जन्तु आरक्षण केन्द्र स्थापना
धनगढीः धनगढीमा घाईते तथा टुहुरा वन्य जन्तु आरक्षण केन्द्र स्थापना गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी सामुदायिक वनले केन्द्र स्थापना गरेको हो।
झण्डै सात लाखको लागतमा जनावरको संरक्षणका लागि केन्द्र स्थापना गरिएको सामुदायिक वनका अध्यक्ष बुद्धि खड्काले जानकारी दिए। पाँच लाख डिभिजन वन कार्यालय धनगढीको र दुई लाख उप–महानगरपालिकाको केन्द्रका भौतिक संरचना निर्माणमा खर्च भएको उनले बताए।
उनका अनुसार विहिबार उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले एक चित्तल र एक रतुवालाई केन्द्रमा राख्दै केन्द्रको उद्घाटन गरेका हुन्। चिडियाखानाको अवधारण अन्तरगत केन्द्र स्थापना गरिएको खड्काले बताए।
अहिले कैलाली जिल्लाका जंगलबाट उद्दार गरिएका जनावरहरुलाई केन्द्रमा राखिने छ। जनावरको रेखदेखका लागि दुई जना हेरालु राखिएका छन्। औषधि उपचार भने उप–महानगरपालिकाले गर्ने छ। पलनपोषण भने शिवपुरी सामुदायिक वनले गर्ने भएको छ।