सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ११५ जना संक्रमित स्थानीय, चार वडामा छन् आधा बढि संक्रमित

२०७७ भदौ २०, ०८:०४ खबर संवाददाता

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ८६ पुगेको छ। उनीहरु मध्ये एक सय १५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। जुन कुल संक्रमितको ४० प्रतिशत हो।

जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ। उनले शुक्रवार एक जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनको पनि ट्राभल हिस्ट्री नदेखिएको बताए। 

ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी, संक्रमितका परिवारका सदस्य र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। धनगढीका चार वटा वडामा मात्रै संक्रमितको संख्या आधा भन्दा बढि अर्थात एक सय ५१ छ।  सबैभन्दा बढि वडा नम्वर ५ मा ५६ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर १२ मा ३८ जना, वडा नम्वर १ मा ३२ जना र वडा नम्वर १४ मा २५ जनामा संक्रमण देखिएको छ। 

यस्तै वडा नम्बर २ मा नौँ जना, वडा नम्वर ३ मा २२ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १२ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना र वडा नम्वर ११ मा ८ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै वडा नम्वर १३ मा चार जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको छ।

कमेन्ट लोड गर्नुस