सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

file photo
file photo
२०८३ जेठ ५, ०९:४१ रासस

काठमाडौँ: विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ।

‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलन सहभागी हुन काठमाडौँमा ४० देशका पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (¥यान्च) सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन्। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तरराष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ अन्तर्गत हुने पहिलो ठूला विश्वव्यापी कार्यक्रमहरूमध्ये एक हो। कार्यक्रमको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हो।

यस भेलाको मुख्य विषय ‘मेरा घोषणापत्र’लाई पुनः समीक्षा गर्नु रहेको इसिमोडले जनाएको छ। यो घोषणापत्र सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा आयोजित विश्व भेलामा पशुपालक महिलाहरूले तयार पारेको महत्वपूर्ण राजनीतिक दस्तावेज हो। यस घोषणापत्रले लैङ्गिक समानता, पशुपालक अधिकार र वातावरण संरक्षणको पक्षमा आवाज उठाउँछ। आज पनि यो दस्तावेज पशुपालक महिलाहरूको विश्वव्यापी अभियानका लागि महत्वपूर्ण मानिन्छ।

पशुपालक महिला तथा बालिकाहरूले चरनभूमिको संरक्षण गर्न र खाद्य तथा रेशा उत्पादनलाई टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरू पृथ्वीको लगभग आधा भूभागको संरक्षणमा प्रत्यक्ष रूपमा संलग्न छन्। तर, उनीहरूको योगदानलाई अझै पर्याप्त मान्यता दिइएको छैन।

धेरै महिलाहरू सुरक्षित भूमिअधिकारको अभाव, जलवायु परिवर्तनको बढी असर तथा नीति निर्माण र निर्णय प्रक्रियाबाट बाहिर राखिने समस्यासँग जुधिरहेका छन्। यस भेलाले उनीहरूको आवाजलाई बलियो बनाउने, उनीहरूको कामलाई सहयोग गर्ने र स्थानीयदेखि विश्वस्तरसम्म निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको इसिमोडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सहभागीहरूले भूमिअधिकार, आर्थिक आत्मनिर्भरता, परम्परागत ज्ञान, चरनभूमि पुनःस्थापना, जैविक विविधता संरक्षण, शिक्षा, स्वास्थ्य तथा जलवायु सहनशीलतासम्बन्धी अनुभव साटासाट गर्ने बताईएको छ। कार्यक्रममा पशुपालक महिलाहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्ने र साझा नीतिगत एजेन्डा तयार गर्ने विषयमा पनि छलफल हुनेछ। यस एजेन्डालाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय मञ्चहरुमा प्रस्तुत गरिनेछ। विभिन्न क्षेत्रका महिलाबीचको सहकार्यले नयाँ उपाय, वकालत रणनीति र भावनात्मक समर्थन आदानप्रदान गर्न सहयोग हुने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस