सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सिडियो भन्छन्, ‘दुई जिल्ला मिलेर गौरीफन्टा नाकालाई अझै आकर्षक बनाउँछौ’

२०७७ भदौ १५, ०१:३१ खबर संवाददाता

धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले त्रिनगर–गौरीफन्टा नाकालाई आकर्षक बनाउने बताएका छन्। दिनेश खवरसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी बोहराले कैलाली र कञ्चनपुर जिल्लाको समन्वयनमा नाकालाई आकर्षक र थप व्यवस्थित बनाउने दावी गरेका हुन्।

‘दुबै जिल्लाको प्रशासन अब समन्वय गर्दै अगाडि बढ्छ,’ उनले भने, ‘कञ्चनपुरको सीमा क्षेत्रमा रहेका अव्यस्थित संरचना हटाउन थालिएको छ। विस्तारै हामी यो नाकालाई अझै व्यवस्थित र आकर्षक बनाउँछौ।’ 

उनले डोकेबजार क्षेत्र र गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता हुनुमा कुनै चलखेल र कसैको दबाव नभएको बताउँदै भने, ‘डोकेबजार क्षेत्र कञ्चनपुरमा पर्ने भएकाले त्यहाँ कञ्चपुरकै सुरक्षा टोली परिचालन हुँदा व्यवस्थापनमा झनै सहज होला भन्ने छ। पहिले पनि त्यहाँ कैलाली र कञ्चनपुर दुबै जिल्लाको सुरक्षा टोली हुन्थ्यो।’

प्रमुख जिल्ला अधिकारी बोहराले भन्सार कार्यालय पनि कञ्चनपुर सर्ने कुरा भने भ्रामक मात्रै भएको बताउँदै कैलाली भन्सारको क्षेत्र कञ्चनपुरको बेलौरीसम्म रहेको बताए।

‘भन्सार कस्को हुने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय गर्न सक्दैन्,’ उनले भने, ‘नेपाल सरकारको निर्णय अनुसार कैलाली भन्सार कार्यालयको अधिकार क्षेत्र कञ्चनपुरको बेलौरीसम्म हो। अहिले पनि बेलौरी सम्म नै छ।’
 

कमेन्ट लोड गर्नुस