सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मानसिक सन्तुलन ठीक नभएका पुरुषमाथि प्रहरी हिरासतमै निर्घात कुटपिट !

२०७७ भदौ १२, १२:३४ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा सुरक्षाकर्मीमाथि हातपात गरेको भन्दै पक्राउ परेका मानसिक सन्तुलन ठीक नभएका पुरुषमाथि प्रहरी हिरासतमै निर्घात कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ को दोधाराचाँदनीका विरेन्द्र बोगटीलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा कुटपिट भएको आफन्तले आरोप लगाएका छन्।

८ वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका बोगटीलाई शुक्लाफाँटा  नगरपालिकाको झलारी चोकमा डिउटीमा खटिएका सुरक्षाकर्मी र स्थानीयमाथि हातपात गरी आतंक मच्चाएको भन्दै ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेर सख्त घाईते बनाएपछि धनगढीको नोभा अस्पतालमा उपचार भईरहेको छ। बोगटीका भाई तिलक बोगटीले भदौँ ९ गते घरबाट मोवाईल बनाउन भन्दै उनी निस्केको बताए। मानसिक रोगको औषधी सेवन गरिरहेका उनी सम्पर्क बिहिन भएपछि ११ गते झलारी प्रहरीले नियन्त्रणमा लिएको खबर सुनेपछि आफूहरु त्यहाँ पुगेको बताए। ‘तर प्रहरीले मानसिक सन्तुलन ठीक नभएको र चोट पटक लागेको भन्दै लैजान भनेपछि उपचारका लागि धनगढी ल्याएका छौ।’ बोगटीले भने। 

उनले सुरक्षाकर्मीको कुटपिटबाट दाजु सख्त घाईते भएर बोल्न नसक्ने अवस्थामा रहेको बताउँदै तल्लो शरिर सुनिएको र शरिरभरी घाउ भएको बताए। उनले दिसापिसाब समेत अहिले शरिरमै गरिरहेको बताउँदै बोगटीले दाजुमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरे। 

यता ईलाका प्रहरी कार्यालय झलारीले भने बोगटीमाथि हिरासतमा कुटपिट नभएको दावी गरेको छ। ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बोगटीलाई नियन्त्रणमा लिने क्रममा नै उनीमाथि कुटपिट भएको दावी गर्दै भने, ‘उनको शरिरमा निलडाम थिए। डिउटीमा रहेका सुरक्षाकर्मी र स्थानीयमाथि ढुङ्गामुढा गरी कुटपिट गरेको देखिन्छ। सोही क्रममा स्थानीयले कुटेका होलान।’

नियन्त्रणमा लिने क्रममा बोगटीको स्वास्थ्य परीक्षण किन गरिएन ? भन्ने प्रश्नमा रावलले बिहान पक्राउ गरी दिउँसो आफन्तलाई बुझाईसकेकाले परीक्षण नगरिएको दावी गरेका छन्। तर आफन्तले भने कुटपिट गरी गम्भीर घाईते भएपछि प्रहरीले स्वास्थ्य अवस्था बारे जानकारी नै नदिएको र ज्यानमा तलमाथि भए आफू फस्ने डरले हतार हतारमा बुझ्न लगाएको आरोप लगाएका छन्।

‘प्रहरीले हामीलाई स्वास्थ्य अवस्था बारेमा केही बताएन। जब दाजुलाई बुझ्ने कागजपत्र ग¥यौँ त्यसपछि मात्र थाहा भयो निर्घात कुटपिट गरेका रहेछन्।’ उनका भाई तिलकले दिनेश खबरसँग भने।

तर प्रहरी निरिक्षक रावलले भने बोगटीले प्रहरी कार्यालयमा तोडफोड गर्न थालेपछि आफन्तको जिम्मा लगाएको बताए। उनीहरुले बुझेपछि प्रहरीले नै बोगटीलाई उपचारका लागि धनगढी लैजान सुझाएको थियो। चिकित्सकले समेत कुटपिटबाट मानसिक अवस्था थप बिग्रिएको भनेको उनका भाई तिलकले बताए। 

सडकमा सशस्त्र प्रहरीको लाठी 
प्रहरी हिरासतमा कुटपिटमा पर्नुअघि बोगटीलाई झलारी बजारमा सशस्त्र प्रहरीले कुटपिट गरेको खुलेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झलारीको टोलीले बोगटीलाई नियन्त्रणमा लिएर सडकमै कुटपिट गरेको थियो। दिनेश खबरलाई प्राप्त भिडियोमा सडकमा सशस्त्र प्रहरीले उनीमाथि लाठी प्रहार गरेको देखिन्छ।

त्यहाँ रहेका स्थानीयले कुटपिट नगर्न र सुरक्षाकर्मीले भिडियो कैद नगर्न भनेको पनि सुनिन्छ। तर सशस्त्र प्रहरीले भने बोगटीलाई कुटपिट नगरेको दावी गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणको टोलीले झलारीबाट उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाईएको भएपनि कुटपिट नगरिएको दावी गरेको छ। 

दैजीबाट बोगटीले पशु सेवा कार्यालय कञ्चनपुरमा कार्यरत शंकरदत्त जोशीको मोटरसाईकल खोसेर भागेको खबरका आधारमा उनलाई झलारीमा मोटरसाईकल सहित नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिने क्रममा डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथि बोगटीले हातपात गरेको भएपनि आफूहरुले भने पक्राउ गरी प्रहरीको जिम्मा लगाएको  जिकिर गरिएको छ। 

कमेन्ट लोड गर्नुस