धनगढीमा सवा ९ करोडको कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अधुरै
धनगढीः कैलालीको धनगढीमा सवा ९ करोडको लागानीमा दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माणको काम ६ वर्षदेखि अलपत्र छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा संघीय सरकारको सहयोगमा कोल्डस्टोर निर्माण भइरहेको छ।
२०७५ मंसिर १७ गतेबाट कोल्डस्टोर निर्माणको काम सुरु गरिएको थियो। काठमाडौंको रुविना कन्स्ट्रक्सनले २४ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का हात पारेको थियो। कोल्डस्टोर निर्माणको काम समयमै नसकिँदा किसानको तरकारी र फलफूल तथा कृषि उपजले उचित मूल्य पाउन समस्या भएको धनगढी—१८ का बलिराम चौधरीले बताए। उनले कोल्डस्टोरको काम नसकिँदा स्थानीय किसानले उत्पादन गरेको तरकारी र फलफूल कुहिने गरेको बताए।
धनगढी उपमहानगरपालिकामा उर्मा र फूलवारीका ६ वडा कृषिउत्पादनका लागि महत्वपूर्ण वडा हुन्। धनगढीको कृषि उत्पादनलाई मध्यनजर गरेर संघीय सरकारले वडा नम्वर १८ मा कोल्डस्टोर निर्माण थालेको थियो। ६ वर्षअघि रुबिना कन्ट्रक्सनका काठमाण्डौसँग २४ महिनामा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। सङ्घीय आयोजना अन्तरगत ९ करोड २८ लाख ५७ हजार १ सय ८ रुपियाँ लागतमा कोल्डस्टोर निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
तर राज्यले गरेको ठुलो लगानीबाट स्थानीयले लाभ लिने अवस्था ७ वर्षसम्म पनि बन्न नसक्नुले स्थानीय किसान निरास भएको धनगढी–१८ डिपोबजारका किसान हरिप्रसाद शर्माले बताए। ‘राज्यले गरेको ठुलो लगानी काम पूरा नहुँदा खेर गएजस्तै भएको छ,’ उनले भने, ‘राज्यले गरेको लगानी अविलम्ब पूरा गरेको भए यहाँका किसानले फलाएको कृषि उपज कोल्डस्टोरमा राख्थे र उचित मूल्यमा बिक्री गरेर लाभ लिन्थे। कोल्डस्टोर नबन्दा राज्यको लगानी र किसानको कृषि उपज खेर गएको छ।’
६ पटक म्याद थप गर्दा पनि काम अधुरै
कोल्डस्टोर समयमै निर्माण सम्पन्न नभएपछि तेह्र संसोधन सहित २०८१ चैत मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी छठौँ पटक म्याद थप गरिएको छ। विभिन्न बाहना देखाएर पटक–पटकम्याद थप्दै आएको निर्माण कम्पनीका कारण स्थानीय किसानहरु सेवाबाट बन्चित भएका छन्। कोल्ड स्टोर निर्माण समयमा नहुँदा स्थानीय किसानले उत्पादन गरेका कृषीजन्य बस्तुहरु संरक्षण गर्न महेन्द्रनगर लैजानुपर्ने बाध्यता रहेको धनगढी–१८ का अर्का किसान नारायण सुवेदीले बताए।
‘कोल्डस्टोर निर्माण नहुँदा यहाँका किसानले फलाएको आलु महेन्द्रनगर लग्नु परेको छ,’ उनले भने, ‘राज्यको पैसा एकातर्फ खेर गइरहेको छ भने अर्कोतर्फ किसानले पैसा तिरेर महेन्द्रनगर लैजानु परेको छ।’ धनगढी–१८ ‘ई’ गाउँका किसान नारायण शर्मा सुवेदीले कोल्डस्टोर निर्माणको काम सम्पन्न नहुँदा किसानले उब्जाएको फलफूल र तरकारी खेर जाने गरेको बताए। उनले कोल्डस्टोरको काम पूरा गर्न स्थानीय र संघीय सरकारले निर्माण कम्पनीलाई बाध्य बनाउन सक्नुपर्ने बताए।
यता धनगढी–१८का वडा अध्यक्ष भुवन रिजालले उपमहानगरपालिकाको दबाबले नै निर्माण कार्यले गति लिएको दाबी गरेका छन्। उनले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिबाना लगाउनुपर्ने दबाब दिएपछि कामले गति लिएको दाबी गरे। ‘उपमहानगरपालिकाले समयमै काम नसक्ने कम्पनीलाई जरिबाना लगाउन र कालो सूचिमा राख्न दबाब दिएपछि २०८० देखि कामले गति लिएको हो,’ उनले भने, ‘अहिले कामले गति लिएको छ र निर्माण कम्पनीले थपिएको म्याद भित्रै काम सक्ने बताउँदै आएको छ।’
दुई हजार मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माणको करिब ८५ प्रतिशत काम सकिएको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ। संरचना निर्माणको काम सकेर उपकरण जडानको काम मात्रै बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए। उनले निर्माण कम्पनीले आगामी चैतभित्र काम सक्नुपर्ने तथा उपकरण जडान र फिनिसिङको काम बाँकी रहेको बताए। निर्माण कम्पनीले भवन निर्माणको काम सके पनि भित्री र बाह्य फिनिसिङ तथा उपकरण जडानको काम भने गरेको छैन। कुलिङ प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने उपकरण निर्माण कम्पनीले ल्याएको छैन।