सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सिडियोले भने, ‘डोकेबजार हाम्रो अधिकारमा पर्दैन्, व्यवस्थापनमा समस्या भयो’

२०७७ भदौ ९, ०४:०६ खबर संवाददाता

धनगढी - कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले डोकेबजार आफ्नो अधिकार क्षेत्रमा नपर्ने हुँदा सीमा नाकालाई व्यवस्थित बनाउन समस्या भएको बताएका छन्।

उनले डोकेबजार क्षेत्र कञ्चनपुरमा पर्ने र त्यहाँ व्यापार व्यवसाय खुला भएकाले व्यवस्थापनमा समस्या भएको बताए।

‘कैलालीमा निषेधाज्ञा लगाएका छौ। मैले निषेधाज्ञा लगाउन सक्ने पनि जिल्लाभरी मात्रै हो,’ प्रमुख जिल्ला अधिरकारी बोहराले भने, ‘डोकेबजार कञ्चनपुरमा पर्छ। त्यहाँ कुनै निषेधाज्ञा छैन्। पसल खुलेका छन्। भीडभाड भएकै छ। यस्ले व्यवस्थापनमा समस्या भयो।’

उनले गौरीफन्टाबाट आएकाहरू डोकेबजारमा जम्मा हुने तर त्यो क्षेत्र कञ्चनपुर प्रशासन मातहत भएकाले आफूले कडाइ गर्न नसक्ने बताए।

उनले थपे, ‘डोकेबजार क्षेत्रमा भारतबाट आएका नागरिकलाई नराख्न कञ्चनपुर प्रशासनले पटकपटक आग्रह गरेको छ। तर कैलालीको सीमामा राख्नका लागि हामीसंग जग्गा छैन्। होल्डीङ सेन्टर खोजिरहेका छौ।’

उनले डोकेबजार क्षेत्र कञ्चनपुरमा पर्ने भएपनि भारतबाट आएका नागरिकको उद्धार र सम्बन्धित पालिकासम्म पुगाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई कैलाली प्रशासनले नै परिचालन गरेको बताए।

नाकाबाट उद्धार गरिएका नेपालीलाई देशभरीका ६३ जिल्लासम्म पुगाउन कैलाली प्रशासनले नै समन्वयन गरेको बताए। चैतयता भारतबाट त्रिनगर भन्सार नाकाबाट दुई लाख ७० हजार नेपाली भित्रिएका छन्। 

भारतको गौरीफन्टा नाकाबाट नेपाली भूमि टेकेपछि कञ्चनपुरको सिमाना लाग्छ। त्यहीँ स्थानलाई डोकेबजार भनिन्छ। डोकेबजार अगाडि भारतबाट भित्रिनेहरूलाई लाइनमा लगाएर थर्मल गनले तापक्रम नाप्ने व्यवस्था पनि कैलालीबाटै भएको छ। 

कमेन्ट लोड गर्नुस