धनगढीमा जोरबिजोरमा कडाई, ५ सय बढिलाई कारवाही, ५८ हजार राजस्व संकलन
धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना नियन्त्रणका लागि जारी गरिएको जोरबिजोर प्रणाली कार्यान्वयनमा कडाई गरिएको छ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले बजार क्षेत्रा चेकजाँच बढाएको हो। सोमवार र मंगलवार मात्रै धनगढीमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने पाँच सय बढिलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मंगलबारमात्रै तीन सय ९८ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
क्यापस चोक, चौराहा र रातोपुलमा चेकजाचको क्रममा उनीहरु कारवाहीमा परेको उनले बताए। प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्नेहरुलाई एक सय रुपैँया जरिवाना गराएको जनाएको छ।
सोमबार १८ हजार ८ सय र मंगलबार ३९ हजार ८ सय रुपैँया राजस्व सकलन भएको प्रहरीले जनाएको छ।
यस्तै मंगलबार धनगढीमा तीन सय ८५ जना मास्क नलगाउनेलाई सम्झाइबुझाई पठाएको छ भने सात जनालाई कारवाही गरि सात सय रुपैयाँ राजस्व सकलन भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।