सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको हविगत: पहिले प्रयोगशाला थिएन, अहिले जनशक्ति छैन्

२०७७ भदौ १, ०८:४२ खबर संवाददाता

धनगढीः गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित बैतडी र डोटीमा तीनवटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले झण्डै साढे चार महिनापछि उपकरण खरिद गरी अहिले जडान गरिरहेको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा समेत गत साउन २७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् भने डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापना गर्दै उद्घाटनको तयारी गरिएको छ।

कोरोनाको सन्त्रास फैलिएका बेला सुदूरपश्चिमबाट नमूना संकलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो। तर संघिय सरकारले नै कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरेपछि उक्त बाध्यता हटेको थियो।

सुरुमा सेतीमा जडान गरिएको मेसिनले दैनिक धेरै परीक्षण गर्न नसकेपछि संघिय सरकारले नै ठुलो क्षमताको मेसिन पठाएर धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा परीक्षण थालिएको थियो।

यो बीचमा आफ्नो निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आलोचना खेप्नुपर्यो। प्रदेश सरकारले साउन २७ गते धनगढीमा सेती अस्पतालले व्यवस्थापन गर्ने गरी आफ्नै बजेटमा प्रयोगशाला स्थापना गरेपछि संघिय सरकार मार्फत सञ्चालित प्रयोगशाला बन्द गरेको छ।

जनशक्तिको कारण देखाउँदै उक्त प्रयोगशाला बन्द गरिएपछि प्रदेश सरकारले नयाँ प्रयोगशाला स्थापना गर्नुले खासै अर्थ राखेको छैन्।  किनकी उक्त प्रयोगशाला स्थापना भएपछि परीक्षण दायरा बढेको छैन्। डोटी र बैतडीमा स्थापना हुने प्रयोगशाला पनि पर्याप्त जनशक्ति नभएका कारण क्षमता अनुसारको परीक्षण गर्न नसकिने देखिएको छ।

जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटटेन्डेन्ट डाक्टर प्रकाश ठकुल्लाले अस्पतालसँग पीसीआर मेसिन सञ्चालन गर्न पाँच जनाको जनशक्ति भएको बताए। उनले पाँच जनाले दैनिक एउटा सिफ्ट मात्रै परीक्षण गर्न सक्ने बताए।  थप जनशक्ति भएमा परीक्षणको दायरा समेत विस्तार गर्न सकिने विश्वास उनको छ।

 जिल्ला अस्पताल बैतडीले समेत प्रयोगशाला जडान गरी सञ्चालनको तयारी गरेको छ। तर जनशक्ति व्यवस्थापन भईसकेको छैन्। जनशक्ति व्यवस्थापनका लागि आवेदन माग गरेकाले छनौट प्रक्रिया थालिएको भएपनि उक्त जनशक्तिले मेसिनको क्षमता अनुसार परीक्षण गर्न नसकिने देखिएको छ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले प्राविधिक जनशक्ति भर्ना गरेर परीक्षण थालिने बताए। यता सामाजिक विकास मन्त्रालयले भने जनशक्ति व्यवस्थापन सम्बन्धी अस्पतालबाटै हुने दावी गर्दै आएको छ।

मन्त्रालयले जनशक्ति व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट मन्त्रालयले दिने जनाएको छ भने बैतडी र डोटीमा जनशक्ति व्यवस्थापन हुने तर धनगढीको हकम सेती प्रादेशिक अस्पताललाई आवश्यक बजेट निकास दिने तयारीमा रहेको दावी गरिएको छ।

मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अस्पतालहरुलाई प्राविधिक जनशक्ति व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट दिने बताउँदै भर्ना गर्ने काम उतैबाट हुने बताए।

तर प्रदेशमा माईक्रो बायोलोजिष्ट नभएका कारण संघिय सरकारसँग माग गरिएको उनले बताए। संघिय सरकारले जनशक्ति पठाए परीक्षणलाई तिव्रता दिन सकिने दावी गरिएको छ।

सुदूरपश्चिममा अहिले धनगढी र डडेल्धुरामा गरी तीन वटा प्रयोगशाला स्थापना गरिएको छ।

ती प्रयोशगालाबाट दैनिक एक हजारका दरले तीन हजारजनाको परीक्षण गर्न सकिने भएपनि पर्याप्त जनशक्ति नभएका कारण दैनिक एक हजारको हाराहारीमा परीक्षण भईरहेको छ।

जसका कारण प्रदेशमा प्रयोगशाला हुँदाहुँदै पनि परीक्षणको दायरा नबढ्दा संक्रमणको अवस्था यकिन हुन सकेको छैन्। 

 

कमेन्ट लोड गर्नुस