बैतडीमा सार्वजनिक जग्गामा बनाईएको घर डोजर लगाएर भत्काइयो
धनगढीः बैतडीमा गौचरनमा परिणत भएको सार्वजनिक जग्गामा बनाईएको घर डोजर लगाएर भत्काईएको छ।
जिल्लाको मेलौली नगरपालिका वडा नम्बर २ सलेनास्थित कठपतेमा स्थानीय लोकराज जोशीले जग्गा अतिक्रमण गर्दै बनाएको घर स्थानीय प्रशासनले डोजर लगाएर भत्काइएको हो।
२०६९ सालको जेठमा २६ जना स्थानीयले जिल्ला प्रशासन कार्यालयमा संयुक्त निवेदन दिदै घर भत्काउन माग गरेका थिए।
उक्त निवेदनमाथि सुनवाई गर्दै २०७१ सालमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सार्वजनिक जग्गामा बनाईएको घर भत्काउन आदेश दिएका थिए।
तर उक्त आदेश बदर गरिपाउ भन्दै उच्च अदालत महेन्द्रनगरमा घरधनीले पुनरावेदन गरेका थिए। उच्च अदालतबाट प्रमुख जिल्ला अधिकारीकै आदेश सदर भएपछि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
तर सर्वोच्च अदालतले समेत तत्कालीन प्रजिअकै आदेश सदर गरेपछि आज डोजर प्रयोग गरी घर भत्काईएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
यसैबीच सार्वजनिक जग्गाको अतिक्रमण हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेहरुले आफूहरुलाई ज्यान मार्ने धम्की आएको दावी गरेका छन्।
उजुरीकर्ता मध्येका दिपेन्द्र चन्दले घर भत्काएपछि घरधनी लोकराज जोशीका भाई नारायणले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान मार्ने धम्की दिएको दावी गरेका हुन्।
उनले आफूलाई धम्की दिएपछि सुरक्षाको माग गर्दै निवेदन दिएको बताए।