मुसाफिर
-श्लोक एस
म हिँड्दै छु चुनौतीको मुहान बोकेर,
न खरिद न विक्री हुने इमान बोकेर,
गुम्सिएका शब्द, आँखामा अडिएका आँसु,
केही चोटका खत अनि ओठमा मुस्कान बोकेर ।
मेरो हिस्साको शुन्यता सबै,
मेरो हिस्साको कोलाहल सँगै,
बाँड्दैछु सारा एकमुस्ट,
मभित्रको देउता मभित्रको शैतान बोकेर ।
रूखो बोली मन पवित्र,
खुशी मात्र खोज्ने दरिद्र,
नबोलिएका शब्द अनि,
मारिएका रहर मभित्र,
एउटा यात्रा,
केही पाइला धर्ती,
एक मुठ्ठी साँस र जिन्दगी एक थान बोकेर,
मभित्रको स्वर्ग मभित्रको श्मशान बोकेर ।