सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासी मारमा

२०७७ साउन २३, ११:२८ जनक विष्ट

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा विगत केही दिनदेखि अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। गर्मी बढेका बेला प्राधिकरणले दैनिक जसो लाईन कटौती गर्दा विद्युतीय उपकरण पंखा, एसी, कुलर चलाउन नपाउँदा समस्यामा परेको गुनासो नगरबासीको छ।

प्राधिकरणले लाईन बिग्रेको कारण देखाउने तर मर्मत सम्भारमा चासो नदिने गरेको आरोप उनीहरको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को मट्यारीका स्थानीय भोजराज जोशीले विगत दुई दिनदेखि विद्युत आउने जाने भएपछि समस्या भएको सुनाए। ‘राती पनि बत्ती आउने जाने भईरहन्छ।

यसले विद्युत बढी खपत हुने कुरा छदैछ। दिनभरी थाकेको मानिसले रातीमा पनि बत्ती नहुँदा गर्मीले सुत्न नपाउँने समस्या छ।’उनले भने, ‘गर्मीमै विद्युतको आवश्यकता हुन्छ। तर प्राधिकरणले यसै समयमा कटौती गर्छ।’ विद्युत आउने जाने समस्याले सास्ती मात्र खेप्नुपरेको नभई विद्युतीय उपकरणमा समेत क्षती पुग्ने गरेको छ।

धनगढीमा यो समस्यामा गर्मीको समयमा वर्षेनी देखिने गरेको भएपनि मर्मत सम्भारमा उदासिनता देखाउँदा नगरबासीले सास्ती भोग्दै आएका छन्। विद्युत प्राधिकरणले गर्मीको समयमा कृत्रिम लोडसेडिङ गरेर विद्युत चुहावट गर्ने गरेको आशंका समेत बढ्दै गएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय ललित ओझाले विद्युत कटौतीले बालबालिकादेखि बृद्धबृद्धा सबै प्रभावित भएको बताए।

‘गर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यसै समयमा विद्युत कटौती भईरहेको छ।’ उनले भने, ‘कतै प्राधिकरणका कर्मचारीले विगतमा जस्तै मिलोमतोमा व्यवसायीलाई विद्युत बिक्रि गरेर जनतालाई समस्यामा पारेका छैनन्? नभए वर्षेनी उस्तै खालको समस्या किन दोहोरिन्छ? मर्मत सम्भार किन हुदैन्? छानविन गर्न आवश्यक छ।’

तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने प्राविधिक समस्याका कारण अनियमित विद्युत कटौती हुने गरेका दावी दोहोर्याउँदै आएको छ। गर्मीको समयमा विद्युत बढि खपत भएर लोड बढ्ने भएका कारण फ्युज जाने गरेकाले अनियमित कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरी बताउँछन्।

ट्रान्सफर्मर लगायतका विद्युतीय उपकरणको मर्मत सम्भार र स्तरबृद्धिका काम हुदै आएकाले कटौतीमा त्यसले कुनै असर नगरेको दावी उनले गरे।विद्युत चुहावट गरेर उद्योग व्यवसायीलाई बिक्रि गरेको कुरामा समेत सत्यता नभएको बताउँदै चौधरीले कर्मचारीले चाहेर पनि त्यसो गर्न नसक्ने अवस्था रहेको जनाए।

उनले आम नागरिक र उद्योग व्यवसायलाई एउटै लाईनबाट विद्युत वितरण भएकाले त्यो कुरा सम्भव नहुने दावी गरेका हुन्। धनगढीमा वर्षेनी गर्मी मौसममा अनियमित रुपमा विद्युत कटौती हुन थालेपछि नगरबासीले सास्ती खेप्नुपर्ने बाध्यता रही आएको छ। तर विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र भने रेडिमेट जवाफ दिएर पन्छीदै आाएको छ।  

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस